
पूर्णपुष्टि, वैशाख ३० गते ।
मतदानस्थलमा तोडफोड तथा मतदान अधिकृतमाथि आक्रमण भएपछि सप्तरीको डोक्नेश्वर नगरपालिका–२ जनता माविमा मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ ।
मतदान स्थलमै मतदान अधिकृतमाथि हातपात भएकाले आजको लागि निर्वाचन स्थगित गरिएको सप्तरीका मुख्य निर्वाचन अधिकृत रमेश कुमार जोशीले जानकारी दिए । त्यहाँ जेठ १ गते चुनाव गराउने निर्णय भएको उनले बताए ।
दिउँसो सवा ११ बजेतिर एक जना वृद्धा मतदाताले भनेको चिन्हमा भोट नखसालेर अर्कैमा भोट हालिदिएको भन्दै एक समूहले मतदान अधिकृत विपिन यादवमाथि आक्रमणसँगै मतदानस्थलमा तोडफोड गरेको थियो ।
ती समूहले मतपेटिका फोड्नुका साथै मतपत्र पनि छरपष्ट पारिदिएका थिए । घाइते भएका निर्वाचन अधिकृत यादवको अवस्था समान्य रहेको सप्तरीका एसपी आदिनारायण काफ्लेले जानकारी दिए ।
भारतीय सीमावर्ती क्षेत्रमा पर्ने यो मतदान केन्द्रमा घटनाअघि २ हजारभन्दा बढी मत खसिसकेपछि विवाद भएको थियो।
