
पूर्णपुष्टि,फागनु १ । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘नागरिक बचाउने महाअभियान’ भन्दै नयाँ अभियान सुरू गरेका छन् । सोमबारदेखि अभियान सुरू गरेका प्रसाईंले महाअभियान गणतन्त्रको विरोधका रूपमा नभएको दाबी गरेका हुन् । प्रसाईंले महाअभियानका लागि ८ वटा मागसमेत राखेका छन् ।
अरू ३ बुँदा पनि बैंकसँगै सम्बन्धित छन्।
पहिलो नम्बरमा बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर ६ प्रतिशतभन्दा कम हुनुपर्ने, बैंक लघुवित्त र सहकारी संस्थाहरूले घरजग्गा लिलाम गरी परिवारविहीन सुकुम्बासी बनाएको नागरिकको घरजग्गा तत्काल फिर्ता गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाले पत्रिकामा फोटो सार्वजनिक गर्ने,तीनपुस्ते विवरण प्रकाशन गरी सार्वजनिक बेइज्जति गर्ने कार्य बन्द गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाका कारण आत्महत्या गर्न बाध्य बनाउने कर्मचारीलाई छानबिन गरी तत्काल मुद्दा लगाउनुपर्ने र बैंक तथा वित्तीय संस्था नेपाल सरकार मातहत तुरून्त ल्याउनुपर्ने उनको माग छ ।
प्रसाईंले आफ्नो अभियान राजनीतिक नभएको दाबी गरे पनि मागमा भने व्यवस्थाकै कुरासमेत उठान गरेका छन्। ‘मुलुकको अर्थतन्त्रले धान्न नसक्ने सेतो हात्ती बनेको प्रदेश संरचना तत्काल खारेज गरियोस्,’ प्रसाईंको माग छ, ‘देशमा उद्योगधन्दा पुनस्सञ्चालन गरी सामान्य रोजगारीका लागि पनि विदेश जानुपर्ने बाध्यता अन्त्य गरियोस्।’ देशमा राष्ट्रियता, धर्म र संस्कृति हराएको भन्दै उनले देश समृद्ध र शान्त बनाउन सबै धर्म र जातजातिको सम्मान गर्दै वैदिक सनातनसहितको हिन्दुराज्य कायम गरिनुपर्ने मागसमेत राखेका छन्।
प्रसाईंले यस्ता मागसहित सुरू गरेको अभियानमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ र सुनसरीलगायत प्रदेश नम्बर १ का अधिकांश जिल्लाका केही स्थानीयहरूले सोमबार कार्यक्रम स्थल पुगेर साथ दिएका छन्। उनले दियो बोकेर मेची पुलमा हुने कार्यक्रममा आउन अपिलसमेत गरेका थिए । प्रसाईं पछिल्लो समय राजनीति र समाजसेवाका क्षेत्रमा थप देखिन थालेका छन्। उनले आफूले सुरू गरेका अभियान कुनै पार्टी, कुनै व्यक्ति वा गणतन्त्रका विरूद्ध नभएको बताउने गरेका छन् ।
उनले सहकारी तथा लघुवित्तबाट दुस्ख पाएका जनताहरूलाई न्याय दिन आफूले लड्ने सार्वजनिक अभिव्यक्ति नै दिएका छन् । बैंक तथा लघुवित्त र सहकारी सरकारीकरण गरेर २० लाखभन्दा थौरै ऋण हुनेको राज्यले मिनाहा गरिदिनुपर्ने बताउने गरेका छन् । यस्ता कुराहरूले उनको अभियान हेर्न र सुन्न मानिसहरू जाने गरेका छन् ।
