Thursday, May 28News That Matters

रसियाबाट मृत्युको घेरा तोडेर नेपाल फर्किएका उदयपुरका राजेन्द्र

पूर्णपुष्टि, २३ फागुन
धेरै मानिसहरु रुसी सेनामा गइरहेको टिकटकमा देखिन्थ्यो । त्यसैक्रममा रोजगारीको खोजिमा रहेका उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाटका राजेन्द्र दाहालले पनि रुसी सेनामा जाने निधो गरे । रुसी सेनामा जाने निधो गरेपछि दलालको सम्पर्कमा पुगेका उनलाई रसिया पुग्न समय लागेन । गत पाँचमहिना अघि कार्तिक १ गते रसिया पुगेर सेनामा भर्ती भइसकेका थिए उनी । तालिम गरेको २८ दिनमै युक्रेनको तुकमाक भन्ने ठाउँमा युद्धमा होमिनु पर्यो । संगै गएका पाँचजना नेपाली मध्ये तीनजना युद्धमा मारिए । बाँचेका चितवनको विसाल लामा र उनी पटक पटक भाग्ने कोशिस गरे । भाग्न खोज्नेलाई पासपोर्ट, मोवाईल जफत गरेर जेलमा लाने र पुनः युद्धमै पठाउने गर्दथे । ४८ घण्टासम्म लुकेर हिउँमा हिडेर सिमानासम्म पुगेपनि रुसी प्रहरीले पक्राउ गरी फेरी युद्धमै पठाउने गर्दथे ।

 त्यसक्रममा भिषण युद्धकाबीच मरेका मान्छे तान्न खटाउँदा आफैले आप्mनो हाँतमा चोट पारेर हस्पिटल भर्ना भएका उनी त्यहिबाट भाग्न सफल भएका थिए । उनका अनुसार करिब तीन हजार नेपाली छन् । त्यसमध्ये आधाजसोले ज्यान गुमाईसकेको उनको अनुमान छ ।
उनले रुसी सेनामा जानु सिधै मृत्युको मुखमा जानु हो भनेका छन् । अब कोही नजान आग्रह आग्रहसमेत गरेका छन् । रुसी सेनाबाट भागेर नेपाल फर्कन सफल ४२ वर्षिय दाहाल हिजो मात्र गाईघाटस्थित घर पुगेका छन् । कष्टपूर्ण जीवन काट्दै स्वदेश फर्कन सफल उनी परिवारसंग भेटेपछि नयाँ जीवनको आभाष गरिरहेका छन् । एकछोरा, दुई छोरी, दुई श्रीमती, आमा, दाजभाइसंग भेट भएको छ । परिवारले माया मारिसकेको र उनी आफैले पनि बाँच्ने आशा मारिसकेको बेला भाग्न सफल भएका हुन् ।