
पूर्णपुष्टि, फागुन ९ गते । निर्वाचन आयोगले तयार पारेको मतदाता नामावलीका अनुसार राष्ट्रपति निर्वाचनका लागी ८८१ मतदाता रहेका छन् । मतदातानमा प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी ८८४ जनाले मतदान गर्न पाउनेछन् । यस पालिको राष्ट्रपति निर्वाचनमा तिन जना मतदाता कम हुने र त्यसबारे आयोगले बुधबार निर्णय गरेर सार्वजनिक गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
उहाँका अनुसार प्रतिनिधिसभाका २७५ मध्ये चितवन २ बाट निर्वाचित रवि लामिछाने पदमुक्त भएका र मनाङबाट निर्वाचित टेबहादुर गुरुङ निलम्बनमा परेका कारण मतदान गर्न पाउने छैनन् । अर्का एक जना मतदाताको विषयमा आयोगले निर्णय गर्न बाँकी छ । जसको नाम आयोगले खुलाएको छैन ।
त्यस्तै महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी चौधरी कोइरीले मतदान गर्न पाउने वा नपाउने भन्ने विषयमा आयोग निर्णयमा पुगेको छैन ।प्रतिनिधिसभा नियमावली २०७९ राष्ट्रपतिको निर्वाचन अगाडि नै पारित भएको खण्डमा उनले मतदानमा भाग लिन पाउने छैनन् । नयाँ नियमावलीमा कैद भुक्तान गर्नुपर्ने भनी अदालतबाट फैसला भएको र फरार रहेका सांसद निलम्बनमा पर्ने व्यवस्था छ ।
आयोगले तयार पारेको तालिका अनुसार बुधबार राष्ट्रपति निर्वाचनको लागी मतदाता नामावली सार्वजनिक गरिने छ भने त्यसपछि दाबी, विरोध र उजुरीका काम हुनेछन् । त्यस्तै उजुरी उपर छानबिन फागुन ११ र १२ गते तोकिएको छ भने अन्तिम मतदाता नामावली फागुन १२ गते नै प्रकाशन गर्ने आयोगको तयारी छ । राष्ट्रपतिका लागि मनोनयन दर्ता फागुन १३ गते लाई तोकिएको छ भने २५ गते निर्वाचन हुनेछ ।
राष्ट्रपतिको निर्वाचन बानेश्वरस्थित संघीय संसद भवनमा हुनेछ । आयोगले यहाँ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । न्याय परिषद्को परामर्शमा उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याल निर्वाचन अधिकृत तोकिएका छन् ।
