
पूर्णपुष्टि, माघ २२ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारबाट बाहिरिने या सरकारमा रहने भन्ने निर्णयक बैठक यतिवेला बसिरहेको अवस्था छ । बैठकमा अधिकांस नेताहरुले सरकार बाट बाहिरीनु पर्ने धारण व्यक्त गरेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामिछोनलाई गैरसांसदको हैसियतमा मन्त्री नबनाउने अडान लिएपछि सरकारबाट बाहिरिने मत बलियो बन्दै गएको हो ।
पार्टीका बैठकहरूमा सरकारबाट बाहिरिने मत बलियो हुँदै गएको प्रवक्ता मुकुल ढकालले बताए । ‘हामी बैठक बस्दैछौँ । पार्टीका अधिकांश नेताहरूको मत सरकारबाट बाहिरिनुपर्छ भन्ने धारणा छ’ ढकालले भने, ‘आजको बैठकपछि पार्टीले एउटा निर्णय गरेर निष्कर्षमा पुग्छौँ ।’ आफू प्रवक्ता भएकाले आधिकारिक निर्णय नहुँदासम्म सरकारमा रहने वा नरहने भन्न नमिल्ने ढकालले बताए ।
प्रधानमन्त्री प्रचण्ड लामिछाने नेतृत्वको पार्टीलाई अरू कुनै मन्त्रालय दिएर जाने पक्षमा छन् । गृह मन्त्रालय लामिछानेलाई दिएमा स्वार्थ बाझिने भएकाले अन्य कुनै मन्त्रालयमा पार्टीकै सांसदलाई मन्त्री बनाउन प्रस्ताव गरेका हुन् । तर, लामिछाने भने गृह मन्त्रालयमै गैरसांसदको रूपमा आफूलाई पठाउन दबाब दिँदै आएका छन् । यो विषयमा कुरा नमिलेपछि रास्वपामा सरकारबाट बाहिरिने अवस्था बन्दै गएको हो ।
