Thursday, June 18News That Matters

वीरगञ्जमा जथाभावी फोहोर फाल्न नपाईने, फोहोर फाल्नेलाई ५० हजार जरिवाना

पूर्णपुष्टि, बैशाख २२ । वीरगञ्ज महानगरपालिकामा अब जथाभावी फोहोर फाल्न नपाईने भएको छ । महानगरपालिकाले जथाभावी फोहोर फालेर दुर्गन्ध फैलाएको भन्दै वीरगञ्जका शिवपुजन चौरसियालाई नियन्त्रणमा लिएर ५० हजार रुपैँया जरिवाना गरेको छ ।

उनले वीरगञ्जको बाइपास सडक खण्ड अन्तर्गत नगवाको वैष्णवी मन्दिर नजिकै राङ्गा, भैँसीको सडेको हड्डी फालेको महानगरले जनाएको छ । सफा, स्वच्छ वीरगञ्ज बनाउने अभियान चलाएको महानगरले यस अघि सीता अस्पताललाई सडकमा जथाभावी माटो खसाएर फोहोर गरेको भन्दै ५१ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

नगर सफा राख्न महानगरले मुख्य सडक, सहायक सडकमा ट्र्याक्टर तथा ठेलाबाट दैनिक तीन तीन पटक फोहोर संकलन गर्दै आएको छ भने ब्रुमरमार्फत सडक बढार्ने काम गरिरहेको छ । महानगरले जथाभावी फोहोर फाल्नेबाट झण्डै १० लाख रुपैँया जरिवाना गरी सचेतना अभियान समेत चलाएको छ।