Wednesday, June 10News That Matters

संघ र प्रदेशको निर्वाचनलाई निष्पक्ष बनाउन उदयपुरले बढायो सक्रियाता

पूर्णपुष्टि, भदौ १० गते ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष बनाउन जिल्ला निर्वाचन कार्यालय उदयपुरले निर्वाचन सम्बन्धी गतिबिधिलाई सुरु गरेको छ । कार्यालयले मतदाता नामावलीमा भएका त्रुटीलाई सुधार गर्न दाबीविरोध अद्यावधिक कार्य सुरु गर्न जिल्लास्थित राजनीतिक दल र सरोकारवाला निकायसँग छलफल गरेको हो ।
खासगरी बसाइसराइ र विवाह गरी अन्यत्र गएकाहरूको दोहोरो मतदाता नामावली हुन सक्ने अवस्थालाई मध्यनजर गरी कार्यालयले एक व्यक्ति एक ठाउँ मतदाता नामावली कार्यक्रमलाई अघि सारेको हो । त्यसैगरी, मतदाता नामावली सच्याउने, हटाउने, दावी विरोध, उजुरीलगायतका कार्यलाई पनि समयसीमा तोकेको छ ।
आयोगले देशैभरी भाद्र १२ गतेदेखि १९ गतेसम्म मतदाता नामावलीमा भएका त्रुटी सच्याउने, नाम हटाउने, उजुरी दिनेलगायतका अभियान सञ्चालन गर्ने जिल्ला निर्वाचन अधिकृत खेमराज कोइरालाले जानकारी दिए । मृत्यु भएकाहरूको लगत कट्टा नहुँदा निर्वाचनका बेला झुक्याएर अर्को व्यक्तिले मतदान गर्न सक्ने भएकाले त्यस्ता क्रियाकलापलाई रोक्न दावी विरोध कार्यक्रम ल्याइएको उनले बताए । मृत्यु भएका, विवाह गरी गएका, बसाइसराइ तथा नागरिकता त्याग गरेकाहरूको लगत कट्टा नहुँदा निर्वाचनको निष्पक्षतामाथि नै प्रश्नचिन्ह उठ्ने गरेकाले समयमा नै मतदाता नामावलीमा दावि विरोध कार्यक्रम सुरु गरिएको उनले बताए ।
त्यसका लागि स्थानीय तहका वडा कार्यालय सूचना टाँस गर्ने र त्यस अवधिमा सप्रमाण आएका दावी विरोधका आधारमा एक व्यक्तिको एक ठाउँ मात्र कायम हुने गरी नामावाली अद्यावधिक गरिने उनले बताए ।
कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश कृष्णप्रसाद सुवेदीको लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन भएकाले यसलाई व्यवस्थित र मर्यादित बनाउनु पर्ने सुझाव दिए । उनले निर्वाचनलाई निष्पक्षता बनाउने जिम्मा सवै पक्षको भएकाले सहयोग गरिदिन आग्रह गरे ।
प्रमुख जिल्ला वीरेन्द्रकुमार यादवले मतदाता नामावली अद्यावधिकका लागि मतदातालाई जागरुक बनाउन राजनीतिक दल र संचारकर्मीलाई आग्रह गरे ।
कार्यक्रममा बोल्ने वक्ताहरूले स्थानीय तहको निर्वाचनमा मतदाता नामावलीमा गम्भीर त्रुटी रहेको बताए । उनीहरूले एकपटक फोटोसहितको मतदाता नामावली बनाएर मतदान गरिसकेको व्यक्ति यसपपटक मतदाता नामावली नभएका कारण बञ्चित हुन पुगेको बताए ।