
पूर्णपुष्टि, फागुन ४ । गम्भिर बहादुर थापाको जन्म वि.सं. १९८२ साल असार १४ गते बिहिबारका दिन उदयपुर जिल्लाको तत्कालीन डुम्रे गा.वि.स. वडा नं–६ ठुलोढुङ्ग्रे भन्ने गाउँमा भएको थियो । हाल उक्त गाउँ उदयपुरगढी गाउँपालिका वडा नं–४ मा पर्दछ । पिता रत्न बहादुर थापा र माता बालकुमारी थापाको कोखबाट जन्मिनु भएका थापाले आफ्नो सम्पूर्ण जीवन सामाजिक जागरण र विरोधी क्रान्तिमा होमिनु भएका थापाले प्रजातन्त्र प्राप्तिको निम्ति जेल, नेल र अनेकैँ यातना भोग्नु भएको थियो ।
जहानियाँ राणा शासनको समूल अन्त्य गर्नका लागी नेपाली काँग्रैसमा आवद्ध भएर सघंर्ष गर्नुभयो । नेपाली काँग्रेसको उदयपुर जिल्ला उप–सभापती, सभापती हुँदै महासमिति सदस्य भएर राजनितिक भूमिका निर्वाह गर्नुभयो । उहाँको व्यक्तित्वका अनेकैँ बहुआयामिक पाटाहरु छन् । उहाँ २००७ सालको जनक्रान्तिको स्वतन्त्रता सेनानी तथा प्रजातान्त्रिक योद्धा हुनुको आलवा प्रखर युग सचेत सामाजिक अभियन्ताको रुपमा परिचित हुनु हुन्थ्यो । अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडन, सामाजिक अन्धविश्वास, कसरिती, रुढीवाद, अनेकौँ खाले विभेदमा जकडिएको समाजलाई उत्थान गर्न एक जाग्रत पुरुषको रुपमा उहाँले आफुलाई समर्पित गर्नुभयो । आफ्नो मातृ भुमिलाई मुटुमा राखेर समाजसेवामा अहोरात्र जुटिरहने थापाको जिवन पछिल्लो पुस्ताका हामी सबैको लागी एक प्रेरणको विषय बनेको छ । आफ्नो राष्ट्रमा कपडा नबनेसम्म लुगा नलगाउने र बोरा राडी ओढेर हिड्ने थापाले स्वदेशमा नुनको उत्पादन नभएसम्म नुन खानु भएन । ८४ बर्षे जिवनमा झण्डै ५७ वर्ष नुन नखानु भएका थापाले जिवनको मध्यकालमा आएपछि अन्न समेत त्याग गर्नु भएको थियो । देशका खातिर मेचि महाकाली तिन पटकसम्म पैदययात्रा गर्नु भएका थापाले समाजका दिनहिन, गरिब, अशक्त, अपाङ्गको सेवामा आफुलाई समर्पित गर्नु भयो ।
व्यक्तिगत रुपमा घर, श्रीसम्पत्ति , श्रीमती छोराछोरी सबै चिज परित्याग गरी एक निष्कामकर्ममा लिन कर्मयोगीको जिवन बिताउनु भयो । जिवनको एउटा समय घरबुना खाँडी कपडाका दौरा, सुरुवाल, भोटो, टोपी र पटुका बाँधेर ढाकर बोकेर, समाज जगाई हिँड्ने थापालाई राजाले हेलिकप्टर लिएर लिन पठाउँदा ढाकर हेलिकप्टर भित्र नअटेको कारण काठमाण्डौँ नगएको कुरा साच्चै रोचक छ । आज भन्दा ५० बर्ष अघि उदयपुरका सरकारी अड्डाहरुका झ्यालढोकामा झुण्डिएका पर्दाहरु च्याटेर गरीब गुरुवालाई कपडा वितरण गर्नु, आततायी, अत्यातारी, शोषक सामन्त उपर ठाडै जाई लागेर गरिब तथा उपेक्षित वर्गलाई न्याय निसाफ दिलाउनु उहाँका दैनिकीहरु थिए । उहाँ एक अखण्ड राष्ट्रवादी हुनुहुन्थ्यो ।
सातओटा भाषा “नेपाली, हिन्दि, मैथिली, राई, मगर, तामाङ, शेर्पा, आशिँक रुपमा अंग्रेजी” धाराबाहिक बोल्न सक्ने थापामा एक बिशाल काव्यिक प्रतिभा थियो । तत्क्षण कविता, गित, सिलोक सवाई रच्न सक्ने क्षमताका धनी थापाका सयौँका संख्यामा कविता र सवाईहरु अहिलेपनि उदयपुरको गाउँघरमा लोकप्रिय रहेका छन् । समाजमा घटेका घटना, पात्र, प्रवित्त र परिवेशलाइ चित्रण गरेर कविता रच्न सक्ने गुण हेर्दा एक विराट आशुकवित्वका प्रखर धनी हुनुहुन्थ्यो भनेर हामी सहजै भन्न सक्छौँ । अशिक्षा र अचेतनामा मसमिन्द सेतेको समाजलाई कविता, गित र सवाई मार्फत जगाउन दिनरात नभनी उहाँले जीवनका ऊर्जाशील समय ग्रामिण बस्तीहरुमा व्यतित गर्नु भयो । यसै क्रममा तत्कालीन शोषक सामन्त र राज्यसत्ताबाट आक्रमण, गिरफ्तारी र जेल कोच्नेसम्मका काम पटक पटक हुन पुगे । तर पनि थापाभित्र विराट अभय चेतना थियो । जसले गर्दा असत् शक्तिको सामु उहाँ कहिल्यै झुक्नु भएन । असत्यसित कहिल्यै आत्मसमर्पण गर्नु भएन । राष्ट्र, राष्ट्रियता, जनत, सत्य र समृद्ध नेपालको निम्ति अहोरात्र अलख जगाई हिड्ने एक योगी हुनुहुन्थ्यो उहाँ । यसे निष्काम कर्मयोगी पुरुष नेपाल राष्ट्रले पाउनु उदयपुरको माटो भाग्यशाली ठान्दछ ।
