
पूर्णपुष्टि, उदयपुर, पोष १७ गते ।
त्रियुगा नगरपालिका वडा नं १६ ले वडामा रहेका बिपन्न दलित, जेष्ठ नागरिक तथा अपाङ्ग भएको परिवारलाई न्यानो कपडा फाईवर सिरक वितरण गरेको छ । आर्थिक वर्ष २०८२/२०८३ को दलित लक्षित अपाङ्ग तथा जेष्ठ नागरिक लक्षित कार्यक्रमको वडागत स्वीकृत बजेटबाट सिरक वितरण गरेको हो । वडा अध्यक्ष मान वहादुर राईका अनुसार वडाभित्रका ३६ जना विपन्न अपाङ्ग तथा आर्थिक अवस्था कमजोर दलित परिवार र ३६ जना जेष्ठ नागरिक गरी जम्मा ७२ परिवारलाई सिरक वितरण गरिएको हो । वडाले प्रत्येक वर्ष लक्षित समुदायलाई यस किसिमको सहयोगबाट सम्मान गर्दै आएको अध्यक्ष राईको भनाई छ।

पछिल्लो समय अत्याधिक जाडो बढे सँगै वडाले प्रतिकूल मौसमकै बिच एक कार्यक्रमको आयोजना गरी न्यानो सिरक वितरण गरेको हो । चिसोबाट जोगिन समस्या परिरहेको परिवारहरु सिरक पाएपछि खुसी भएका छन् । सिरक पाएका जेष्ठ नागरिक र दलित विपन्न परिवारले वडालाई धन्यवाद र खुसी ब्यक्त गरेको छ ।
सिरक पाएर खुसी भएकी दलित महिला मसली परियारले सरकारले गर्नु पर्ने काम कर्तव्य मार्फत आफुहरु जस्ता समस्या परेका जेष्ठ नगरिक परिवार र लक्षीत समुदायहरुलाई ठुलो राहत मिलेको बताईन् । त्यसैगरी विपन्न तथा एकल महिला प्यारी माया तामाङ्ले समस्यामा परेको परिवारलाई गरेको सहयोग प्रति वडा सरकार नजिकको सरकार रहेको महसुस गरिन् । यता जेष्ठ नागरिक ललित बहादुर तामाङ्ले जेष्ठ नागरिकहरु दिन दिनै गरिखान र कमाएर किन्न नसक्ने अवस्थामा वडाले सहयोग गरेर राम्रो काम गरेको बताए । सिरक वितरण कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका सदस्य समेत रहेकी गोमा कार्कीले वडा कार्यालयद्वारा आयोजित यस्तो खाले जनमुखी कार्यक्रमले खास गरी लक्षित समुदायहरु लाभान्वित हुने बताईन् ।
कार्यक्रममा कार्यपालिका सदस्य कुन्ती परियार, वडा सदस्य घमान सिंह राई र रामनारायण श्रेष्ठको उपस्थिति रहेको थियो । कार्यक्रमलाई कार्यवाहक वडा सचिव विष्णुबहादुर तामाङले संञ्चालन गरेका थिए । वडा कार्यालयले गतवर्ष दलित लक्षित कार्यक्रमबाट परम्परागत आरन मेसिन समेत वितरण गरेको थियो ।

