
पूर्णपुष्टि, असोज २४ गते ।
प्रदेश नं. १ मा सत्तारुढ गठबन्धन दल (नेकपा माओवादी केन्द्र) ले निर्वाचन क्षेत्रमा २६ जनालाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । माओवादीबाट प्रतिनिधिसभामा ७ र प्रदेशसभामा १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर ४ गतेलाई तोकिएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । १४ जिल्ला रहेको प्रदेशमा २८ प्रतिनिधि र ५६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् ।
प्रतिनिधिसभातर्फ माओवादीका उम्मेदवारले ताप्लेजुङ, भोजपुर र खोटाङ तथा झापा क्षेत्र नम्बर २, मोरङ ४ र ५ एवं सुनसरी १ मा मनोनयन दर्ता गराएका छन् ।
ताप्लेजुङमा पार्टीका केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् । संसदीय निर्वाचनमा नयाँ अनुहार उनको प्रतिस्पर्धा नेकपा (एमाले)का सचिव एवं प्रभावशाली नेता योगेश भट्टराईसँग हुनेछ ।
भोजपुरमा निवर्तमान संघीय सांसद सुदन किराती उम्मेदवार बनेका छन् । एमालेको तर्फबाट लोकप्रिय नेता एवं पूर्वमुख्यमन्त्री शेरधन राईसँग किरातीले प्रतिस्पर्धा गर्नुपर्नेछ । यद्यपि किराती पनि स्थानीयस्तरमा चिरपरिचित छन् ।
प्रदेशका बहालवाला मन्त्री एवं माओवादी नेता रामकुमार राईले खोटाङमा प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका छन् । एमालेका विशाल भट्टराईसँग उनको प्रतिस्पर्धा हुने छ ।
माओवादीले झापा क्षेत्र नम्बर २ मा हरिकुमार रानालाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । एमालेका प्रदेश इन्चार्ज देवराज घिमिरेसँग रानाको प्रतिस्पर्धा हुने छ ।
मोरङको क्षेत्र नम्बर ४ र ५ मा माओवादीबाट क्रमस अमनलाल मोदी र शिवकुमार मण्डलको उम्मेदवारी परेको छ । मोदीको प्रतिस्पर्धा क्षेत्र नम्बर ४ मा एमाले–जसपा गठबन्धनका उम्मेदवार एवं एमाले केन्द्रीय सदस्य विनोद ढकालसँग हुने छ ।
क्षेत्र नम्बर ५ मा मण्डलसँग एमाले–जसपा गठबन्धनका उम्मेदवार जसपा नेता राजकुमार यादव प्रतिस्पर्धामा छन् ।
सुनसरीको क्षेत्र नम्बर १ मा माओवादीले मुक्साहाङ मेन्याङ्बोलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा एमाले–जसपा गठबन्धनका उम्मेदवार अशोक राईको उम्मेदवारी परेको छ । जसपा सत्ता गठबन्धनमै हुँदा मेन्याङ्बोले प्रदेशसभा सदस्यका लागि तयारी गरेका थिए । पार्टीले टिकट दिएपछि अहिले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशका ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये माओवादीको भागमा १९ वटा परेको छ । सोलुखुम्बुमा माओवादीले प्रदेशका दुवै क्षेत्र पाएको छ । गठबन्धनको सहमति अनुसार प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा प्रतिनिधिसभाका लागि माओवादीले उम्मेदवार उठाउने तयारी गरेको थियो । तर प्रदेशका दुवै क्षेत्र आफूले लिएर माओवादीले प्रतिनिधिसभा कांग्रेसलाई दिएको छ ।
कांग्रेस नेता बलबहादुर केसीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । माओवादीबाट सोलुखुम्बुको ‘क’मा कज्र्याङ शेर्पा, सोलुखुम्बुको ‘ख’ मा ठमनाथ पराजुली (ध्रुव)ले उम्मेदवारी दिएका छन् । पाँचथरको ‘ख’ बाट प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उम्मेदवारी दिएका छन् । इलाम क्षेत्र नम्बर २ को ‘ख’बाट हर्क लावती उम्मेदवार बनेका छन् । लावती नयाँ अनुहार हुन् ।
झापा ३ ‘क’ बाट श्यामबीर लिम्बू, ३ ‘ख’बाट निवर्तमान सांसद पूर्णसिंह राजवंशी, झापा ४ ‘क’बाट प्रदेश सरकारका कृषिमन्त्री झलकसिंह दर्लामी, झापा ५ ‘ख’बाट पार्टीका प्रदेश कोषाध्यक्ष गगन पुरी उम्मेदवार बनेका छन् । मोरङको १ ‘क’बाट निवर्तमान प्रदेश सांसद कूलप्रसाद साम्बा लिम्बू, मोरङको २ ‘क’बाट पार्टीका प्रदेश सचिव गणेश उप्रेती र मोरङ ६ ‘क’बाट माओवादीका केन्द्रीय सदस्य जीवन आचार्यले उम्मेदवारी दिएका छन् ।
आचार्य माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरी–ज्वाईं हुन् । २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट उनले उम्मेदवारी दिएका थिए । तर कांग्रेसका चुमनारायण तब्दारसँग पराजित भए । अहिले कांग्रेससहितको सत्तारुढ गठबन्धनबाट पनि आचार्यले नै अवसर पाएका छन् ।
सुनसरी २ ‘क’ बाट इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्वारिकलाल चौधरीले उम्मेदवारी दर्ता गरेका छन् । एमाले छाडेर माओवादीमा प्रवेश गरेलगत्तै उनले प्रदेशसभा सदस्यको टिकट पाएका हुन् । प्रदेशकी उपसभामुख सरस्वती पोखरेललाई माओवादीले सुनसरी ३ ‘क’ बाट उम्मेदवार बनाएको छ । धनकुटाको ‘ख’बाट निवर्तमान प्रदेश सांसद कुशुमकुमारी श्रेष्ठ र तेह्रथुमको ‘ख’ बाट केन्द्रीय सदस्य दुर्गा चापागाईं माओवादीका उम्मेदवार हुन् ।
संखुवासभा ‘क’बाट राजेन्द्र कार्की, उदपयुरको क्षेत्र नम्बर १ ‘क’ बाट राजन किराती र २ ‘क’ बाट नारायण बुर्जा मगर उम्मेदवार बनेका छन् । ओखलढुंगाको ‘ख’बाट बाबुराम गौतमलाई माओवादीले उम्मेदवार बनाएको छ ।
