हाम्रा अतुलनीय परिकारहरु

मलाई लाग्छ, शिक्षाले नै मेरो लागि यस्ता अवसरका ढोकाहरू खोल्दै गयो। त्यसैले पूर्वी पहाडमा जन्मेर, पूर्वी तराईं हुँदै सुदुर पश्चिमसम्मको भूगोलहरूमा पाइला टेके । भूगोल विशेष समाज, शब्दावली, भाषाशैली, जीवनशैली देख्न, बुझ्न र सिक्न पाएँ । शिक्षा विना यी सबै कुराहरूबाट वन्चित हुने थिँएछु ।

  • सुष्मा राई, काठमाण्डौ

खानपानमा सौखिन त त्यति धेरै छैन म । खानको लागि बाँच्नेभन्दा पनि बाँच्नको लागि खान पर्छ भन्ने मान्यता राख्छु । तथापी केही यस्ता मौलिक खाने कुराहरू छन्, जुन खाने कुरा भनेपछी हुरुक्कै हुन्छु जस्तै किनामा, गुन्द्रुक, तामा, निबुवा, छोइला, नेवारी अचार, सेलरोटी, थारु चट्नी आदि।

किरात समुदायको मुख्य तिहुन हो किनामा । विशेष गरि हिउँद महिनाको तिहुन हो । अझै मलाई गाउँको याद ताजै छ । सानो छँदा मेरो गाउँमा हिउँदमा तरकारी उत्पादन गरिदैन्थ्यो र हुँदैनथ्यो । त्यो बेला गुन्द्रुक र किनामाले छाक तार्ने गरिथ्यो । किनामाको अचार, तरकारी र सुप निकै लोकप्रिय थियो ।

भटमासबाट बनाइन्छ किनामा । किनामा दुई तरिकाले बनाइन्छ। उसिनेको तात्तातो भटमास ओक्ख्लीमा कुटेर गुम्स्याएर बनाउन सकिन्छ भने अर्को तरिका छ, पहिले भटमास भुटेर जाँतोमा पिस्ने अनि तातो पानीमा पाकिन्जेल उमालेर गुम्स्याउने । गुम्स्याएको भटमासलाई ताप चाहिन्छ । तापमा राखिएको केही दिनपछि गमजस्तै बन्छ । त्यसलाई घाममा बेस्सरी सुकाउनु पर्छ । सुकेको किनामा छिट्टै बिग्रँदैन ।

खासगरि किरात वस्तीहरू पूर्वी पहाडी विकट भूगोलमा अवस्थित छन् । पहिले ती वस्तीहरूमा ज्ञान, विज्ञान, प्रविधी, बाटो, बजार र सिँचाइको अभावमा वेमौसमी तरकारी लगाउने अवस्था थिएन । वेमौसममा पनि तरकारी उत्पादन गर्न सकिन्छ भन्ने ज्ञान पनि थिएन मानिसमा । सायद त्यस्तो बेलामा आविस्कार गरिएको हुनु पर्छ किनामा ।

वास्तवमा स्थानान्तरणले निकै कुरा सिकाउँछ । विभिन्न कुराहरू अवलोकन गर्ने मौका मिल्छ । त्यहाँ पुगेर अवलोकन र अन्तक्रिया दुबै गरिन्छ जसबाट धेरै कुराको गहन जानकारी प्राप्त गर्न सकिन्छ । हावापानी, खानपान, जीवन शैली, संस्कृती आदि बुझ्न सकिन्छ। ती कुराहरू कहिले नमेटिने छाप बनेर दिमागमा बसिरहन्छ । सधैं स्मरणमा आइरहन्छ ।

स्थानान्तरण जति चुनौतीपूर्ण हुन्छ, त्यति नै धेरै अवसरहरू पनि हुन्छन् । नयाँ ठाउँमा पुग्न अगाडी मनमा निकै खुल्दुली हुन्छ । कता कता डर पनि लाग्छ । के हुने हाे ?, कस्तो हुने हो ? कस्तो समाज होला ? रहन-सहन कस्तो होला आदि बारे वेस्सरी मन खेल्ने गर्दछ।

स्थान्तरणको सिलसिलामा मेरो लागि किराती परिकार किनामादेखि थारु चट्नीसम्मको स्वाद लिने मौका मिल्यो । वाल्यकालमै तामा, निबुवा, गुन्द्रुक, किनामा आदिको स्वादमा परेर होला यी खाने कुरा भनेपछी हुरुक्कै हुन्छु म । स्कुलले जीवनदेखि नै घर छोडेर पर्देशिएकोले किनामासँगको सम्बन्ध त विस्तारै पातलिन पुग्यो ।

किनामासँगको सम्बन्ध पातलिन पुगे पछि नेवारी परिकारबारे जान्ने र स्वाद लिने मौका मिल्यो । मलाई नेवारी परिकार निकै स्वादिष्ट लाग्छ । नेवारी परिकारमा सबैभन्दा बढी मनपर्ने परिकार हो छोइला र अचार । यी दुई परिकार मेरो पहिलो रोजाइमा पर्ने गर्छ सधैं ।

त्यसैगरि पेशाको सिलसिलामा पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, सुर्खेत, कैलालीतिरका परिकारबारे जान्ने र स्वाद लिने मौका मिल्यो । यो क्षेत्रमा आएर मैले देखेको र स्वाद लिएको नयाँ परिकारहरू हुन् फिने रोटी, ढिक्री, थारू चट्नी र तिलौरा ।

यी परिकारहरूको स्वाद जिब्रोमै झुण्ड्यो । त्यसैले बनाउने तरिका पनि सिकेँ । यी परिकारहरू पूर्वमा बन्दैनन् । त्यसैले अञ्जान थिएँ यी परिकारहरूको बारेमा ।

पातलो तर पत्रैपत्र र बीचमा तीन ठाउँमा चिरा पारिएको फिने रोटी देख्दा अचम्म लाग्थ्यो । कसरी यस्तो रोटी बनाउने होला ? भन्ने जिज्ञासा पनि जाग्थ्यो । फिने रोटी विशेष पर्वहरूमा निकै मेहनतका साथ अनिवार्य रूपमा बनाउने चलन रहेछ यो क्षेत्रमा ।

थारुहरूको मौलिक र लोकप्रिय परिकार रहेछ ढिक्री । ढिक्री बनाउने र पकाउने तरिका हेर्दा मलाई लाग्छ, ढिक्रीको विस्तारित रूप होकि मो:मो ?

त्यसैगरी थारू चट्नी अर्को लोकप्रिय परिकार रहेछ । लसुन र खोर्सानी भुटेर डोकनीमा कुटेर बनाइन्छ यो चट्नी । यसको प्रमुख विशेषता रहेछ, चट्नीमा खोर्सानीको मात्रा बढी भए पनि खोर्सानीले पेट नदुखाउने, नपोल्ने। मसँग वैज्ञानिक प्रमाण त छैन । तर लसुन र खोर्सानीको मात्रा उस्तै उस्तै हुन्छ । लसुनको कारणले पेट नदुखेको हुन सक्छ भन्ने लाग्यो ।

अनुभवले बताउँछ कि सिकाइमा भ्रमण, अबलोकन र अन्तरक्रिया जति शक्तिशाली अरू केही नहुने रहेछ । मेरो अनुभवमा ८०% बढी मान्छेले देखेर सिकिने रहेछ । १० प्रतिशत जति पढेर सिकिन्छ भने १० प्रतिशत जति मात्र सिकेको कुरालाई परिमार्जन गरि नयाँ रूपमा सिर्जना गरिन्छ ।

पश्चिम नेपालको भूगोलमा पुगे पछी मात्र महशुस भयो । जसरी फिनेरोटी र तिलौरा पश्चिमको विशेष परिकार हुन् त्यसरी नै किनामा त पूर्वेली किराती परिकार रहेछ भन्ने आभास भयो । जतिबेला पश्चिमेलीहरू किनामाबारे अनभिज्ञ पाएँ ।

मलाई लाग्छ, शिक्षाले नै मेरो लागि यस्ता अवसरका ढोकाहरू खोल्दै गयो। त्यसैले पूर्वी पहाडमा जन्मेर, पूर्वी तराईं हुँदै सुदुर पश्चिमसम्मको भूगोलहरूमा पाइला टेके । भूगोल विशेष समाज, शब्दावली, भाषाशैली, जीवनशैली देख्न, बुझ्न र सिक्न पाएँ । शिक्षा विना यी सबै कुराहरूबाट वन्चित हुने थिँएछु ।

शिक्षाको अभावमा आफैले आफैलाई राम्ररी चिन्न सकिदैन । आफ्नो अस्तित्व, महत्त्व, सकारात्मक र नकरात्मक पक्षहरू पहिचान गर्न असमर्थ भइ अकालमै जीवनको अन्त्य गर्ने रहेछौं । समाज र संसार चिन्न त परैको कुरा हुने रहेछ । शिक्षाले अवसरको दायरा फराकिलो पार्दै जाने रहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: