
पूर्णपुष्टि,चैत ९ । बैदेशिक रोजगारमा दुर्घटनामा परी शारीरिकरुपमा पूर्ण अशक्त बनेका उदयपुरको चौदण्डीगढी नगरपालिका–२ झोरापाटाका ५३ वर्षिय उत्तमकुमार राईलाई नेश्नल लाईफ इन्स्योरेन्स लिमिटेडले आज घरमै पुुगेर १२ लाख रुपैया इन्स्योरेन्सवापतको रकम उपलब्ध गराएको छ । कतारमा तीनवर्षअघि दुर्घटनामा परेको र लगातार उपचार पश्चात चारमहिना अघिमात्र नेपाल फर्केका राईलाई उक्त रकम उपलब्ध भएको हो ।
२०७४ साल मंसीर ४ गते ५ हजार ३३० रुपैयामा बैदेशिक रोजगार (म्यादी) जीवन विमा गरी गराएका राईले विमा रकम पाएकोमा खुसी ब्यक्त गरे । काममा गइरहेको बेला गाडीले ठक्कर दिई मेरुदण्ड भाँचिएर पूर्ण अशक्त बनेका राईको लामो समय कतारमै उपचारपछि चारमहिना अघि मात्र नेपाल आएका थिए । उनको अशक्तालाई मध्येनजर गरी घरमै पुुगेर विमा रकम हस्तान्तरण गरिएको शाखा प्रमुख राईले बताए ।
बैदेशिक रोजगारमा सरकारले अनिवार्य लागु गरेको विमाबाट प्राप्त आर्थिक सहयोग राईका लागि साहारा बनेको बताए । इन्स्योरेन्सका उदयपुर गाइघाट शाखा प्रमुख प्रेमकुमार राई र सामीका नगर संयोजक सोनम राईले स्थानीयहरुको रोहबरमा पिडितको घरमै चेक हस्तान्तरण गरेका हुन् । पिडित राईलाई उक्त रकम लिने प्रक्रियाका लागि सामीका पूर्व कर्मचारी इन्द्र बस्नेतले सहयोग गरेका थिए ।
