Thursday, May 21News That Matters

आँप बगैँचा फडानी गरी सौर्य प्लान्ट स्थापना गर्ने योजना, किसानहरु विभाजित

पूर्णपुष्टि, साउन २३ ।  धनुषाको बटेश्वर गाउँपालिका-१ चित्रपुरमा रहेको ८० बिघा आँपको बगैँचा फडानी गरेर सौर्य प्लान्ट स्थापना गर्ने योजनाले स्थानीय किसानहरुलाई विभाजित बनाएको छ। काठमाडौंको जन्दादेवी सोलार प्रालिले ५० मेगावाट क्षमताको सौर्य विद्युत उत्पादन गर्ने योजनाका लागि १२ जना किसानसँग १६ बिघा जग्गा ३० वर्षका लागि भाडामा लिने सम्झौता गरिसकेको छ।

कम्पनीले किसानहरुसँग वार्षिक प्रतिकठ्ठा ८ हजार रुपैयाँ र प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने सम्झौता गरेको छ। जलस्रोत तथा सिँचाइ विभाग र स्थानीय वडा कार्यालयले उक्त जग्गा सिँचाइयोग्य नरहेको प्रमाणित गरिदिएको छ।

तर यस योजनाले स्थानीय किसानहरुलाई विभाजित बनाएको छ। केही किसानहरु आँप खेतीमा हुने क्षति र सरकारी राहतको अभावका कारण सौर्य प्लान्टलाई जग्गा दिन बाध्य भएको बताउँछन्। अर्काथरि किसानहरु भने आँप खेती स्थानीय पहिचान भएकोले यसलाई जोगाउनुपर्ने र सौर्य प्लान्टका लागि अन्यत्र जग्गा खोज्नुपर्ने बताउँछन्।

जन्दादेवी सोलार प्रालिका प्रतिनिधि इन्जिनियर अभिषेक पराजुलीले भने अन्यत्र एकै ठाउँमा ८०-८५ बिघा जग्गा नपाइएकोले आँप बगैँचाको जग्गा लिनु बाध्यता भएको बताए। उनका अनुसार उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्ने हुनाले ढल्केबर सब स्टेशन नजिकको जग्गा आवश्यक परेको हो।

यो योजनाले एकातिर नवीकरणीय ऊर्जा उत्पादनमा योगदान पुर्‍याउने देखिए पनि अर्कोतिर स्थानीय कृषि उत्पादन र पहिचानमा असर पार्ने देखिएको छ। स्थानीय सरोकारवालाहरुबीच यस विषयमा थप छलफल र समन्वय आवश्यक देखिएको छ।