Monday, April 20News That Matters

ईलाम–२ उपनिर्वाचन : आजपाले स्वतन्त्र उम्मेदवार लिम्बुलाई समर्थन गर्ने

पूर्णपुष्टि, बैशाख १० । आम जनता पार्टी (आजपा) ले इलाम–२ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह लिम्बुलाई समर्थन गर्ने भएको छ ।

सोमबार आजपाका केन्द्रिय उपमहासचिव तथा प्रवक्ता चन्द्र भूषण साहले विज्ञप्ती निकाल्दै उपनिर्वाचनमा आफ्नो पार्टीले पूर्ण साथ, सहयोग र समर्थन गर्ने जानकारी दिए । पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार लिम्बुले वैशाख ८ गते आजपालाई सहयोग र समर्थनको आग्रह गर्दै आजपालाई पत्राचार गरेका थिए ।

आजपाका अध्यक्ष प्रभु साहले अहिलेको उपनिर्वाचन परिणामले संसदीय अङ्कगणितमा खासै फरक नपारे पनि राजनीतिक मुद्दाहरूको बहस र संघर्षमा विशेष प्रभाव राख्ने निश्चित रहेको बताए । यसर्थ आम मतदाताले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ ।

‘अहिले इलाम–२ मा संघीयता नचिन्ने र संघीयता चिनेको जस्तो नाटक गरेपनि पहिचानलाई स्वीकार नगर्ने तथा सार्थक संघीयतावादीबीचको लडाइँ छ ‘विज्ञप्तीमा भनिएको छ’ अहिलेको लुटकारी दलतन्त्र र दलभित्रका केही मुठ्ठीभर भ्रष्ट, बेइमान एवम् धोखेबाज नेताहरूको अपराधले गर्दा नै देश अहिले सङ्कटग्रस्त अवस्थाबाट गुज्रिरहेको सन्दर्भमा यसबाट ठोस एवम् दीर्घकालीन निकासका लागि आम नागरिकको सर्वोच्चता स्थापित गराउन महत्त्वपूर्ण भूमिका एवम् योगदान गर्ने सक्ने कुशल, कर्तव्यनिष्ठ, इमानदार एवम् प्रतिबद्ध नेतृत्वको छनौट जरुरी छ । वैशाख १५ गते उपनिर्वाचन हुने तय भईसकेको छ ।