
पूर्णपुष्टि, असोज १७ गते ।
उदयपुरबाट बागी उम्मेदवारी दिनेलाई पार्टीद्धारा निस्काशित गरिएको छ । गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिने नेपाली काँग्रेसका उम्मेदवारलाई ५ वर्ष सम्म साधारण सदस्य समेत नरहने गरि पार्टीले निस्काशन गरेको हो ।
आसन्न मंसिर ४ मा हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा बागी उम्मेदवार दिई तोकिएको मिति र समयमा उम्मेदवार फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली काँग्रेसको सदस्य समेत नरहने कार्वाहि गरिएको छ । कटारी नगरपालिका–५ का प्रतिनिधि सभा सदस्य क्षेत्र नं. २ का उम्मेदवार राम कुमार राई, कटारी–६ का मिन कुमार दाहाल र कटारी–४ का लिलाराज अधिकारी कार्वाहिमा परेका छन् ।
त्यस्तै, यता बेलका नगरपालिका–९ का प्रदेश सभा सदस्य क्षेत्र नं. १ का उम्मेदवार जय प्रकास सुवेदी र बेलका–४ का भरत कार्की पनि कार्वाहिमा परेका हुन् ।
गठबन्धन विरुद्ध नेपाली काँग्रेस उदयपुरका क्षेत्रिय सभापति राईले निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । राईले गठबन्धनका उम्मेदवार जगन्नाथ खतिवडा बिरुद्ध स्वतन्त्रमा बागी उम्मेदवारी दिएकोले पार्टीबाट ५ वर्षका लागि निस्काशनमा परेको हो ।
