Wednesday, April 22News That Matters

उदयपुरको चौनपामा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

पूर्णपुष्टि, मंसिर १० । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आयोजित दोस्रो कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता आइतबार सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको तीन दिने प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाबाट खेलाडीहरूको सहभागिता रहेको थियो ।

चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै प्रतियोगिताको समापन गरे । प्रतियोगितामा विभिन्न विधाका विजेताहरूलाई नगद पुरस्कारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरियो ।

प्रदेशस्तरीय मेन्स डबल्सतर्फ विनय चौधरी (उदयपुर) र लाक्पा शेर्पा (मोरङ) को जोडीले प्रथम स्थान हासिल गर्दै रु. ३५ हजार प्राप्त गरे । सुनिल कार्की (संखुवासभा) र महेश खड्का (मोरङ) को जोडी दोस्रो भई रु. २० हजार प्राप्त गरे भने तृतीय हुने दुई जोडीले रु. ७ हजार ५ सय प्राप्त गरे ।

मेन्स डबल्स ४५ प्लस ओपनतर्फ भजनलाल चौधरी (झुम्का) र सन्तोष कटुवाल (उदयपुर) को जोडीले प्रथम स्थान हासिल गर्दै रु. २५ हजार जिते । श्याम लामा र उत्तम सिम्खडा (सागर फिड प्रा.लि.) को जोडी दोस्रो भए ।

मिक्स डबल्सतर्फ बिशाल तामाङ (भोजपुर) र रोजी राई (उदयपुर) को जोडीले प्रथम स्थान हासिल गर्दै रु. २० हजार प्राप्त गरे । विनय चौधरी (उदयपुर) र छाया केरुङ (पाँचथर) को जोडी दोस्रो भए ।

जिल्लास्तरीय मेन्स डबल्सतर्फ देवीराज राई र कमल तामाङ (बेल्टार) को जोडीले प्रथम स्थान प्राप्त गर्दै रु. २० हजार जिते । लिला पुलामी र कालुप्रसाद उराव (गाईघाट) को जोडी दोस्रो भए । बेल्टार ब्याडमिन्टन क्लबले आयोजना गरेको यस प्रतियोगितामा चौदण्डीगढी नगरपालिकाको मुख्य सहयोग रहेको थियो भने स्थानीय व्यवसायी र संघसंस्थाहरूले पनि सहयोग गरेका थिए ।