
पूर्णपुष्टि, असार ११ । उदयपुरको ८ वटै स्थानिय तहले आगामी वर्ष २०८२÷०८३ को लागी बजेट प्रस्तुत गरिसकेको छ । चार वटा नगरपालिका र चार वटा गाउँपालिका रहेको मध्ये बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकाले असार ९ गते बजेट ल्याएको थियो भने त्रियुगा नगरपालिका, कटारी नगरपालिका, उदयपुरगढी, ताप्ली, लिम्चुङ्बुङ र रौतामाई गाउँपालिकाले १० गते बजेट ल्याएको हो ।
उदयपुरको पालिकाहरु मध्ये सबैभन्दा धेरै बजेट त्रियुगा नगरपालिकाले ल्याएको छ । त्रियुगाले १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार बजेट ल्याएको छ । दोस्रोमा चौदण्डिगढी नगरपालिकाले १ अर्ब १३ करोड ३५ लाख ४१ हजार ६२ रुपैयाँको बजेट ल्याएको छ ।
तेस्रोमा कटारी नगरपालिकाले ८७ करोड ६५ लाख ३ हजार ४ सय ३९ रुपैयाँको बजेट ल्याएको छ । चौथोमा बेलका नगरपालिकाले ७७ करोड २६ लाख ४१ हजार बजेट ल्याएको छ ।
आठै पालिकामध्ये पाँचौँ र गाउँपालिकातर्फ पहिलो उदयपुरगढी परेको छ । उदयपुरगढीले ६८ करोड ४० लाख ५ हजार १ रुपैयाँको बजेट ल्याएको छ । रौतामाई गाउँपालिकाले ६६ करोड ९९ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको छ ।
लिम्चुङबुङ गाउँपालिकाले ४३ करोड १० लाख ९८ हजार २ सय २६ रुपैयाँको बजेट ल्याएको छ । सबैभन्दा कम बजेट ताप्ली गाउँपालिकाले ल्याएको छ । ताप्लीले ४१ करोड ७३ लाख ५५ हजार ल्याएको छ । पालिकाहरुले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र रोजगारका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।
