
पूर्णपुष्टि/गाईघाट, जेठ १३ ।
२४ औँ कृष्णसेन इच्छुक स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ उदयपुरको सभा भवनमा स्मृति सभा सम्पन्न भएको छ।
प्रेस सेन्टर उदयपुरको आयोजनामा सम्पन्न कार्यक्रममा वक्ताहरूले निर्भिक पत्रकारिता र जनपक्षीय सञ्चारको आवश्यकतामाथि जोड दिएका थिए। कार्यक्रममा बोल्दै प्रेस स्वतन्त्रता सेनानी कौशल चेम्जुङले स्वर्गीय पत्रकार कृष्णसेन इच्छुकले देखाएको निर्भिक पत्रकारिताको बाटोमा हिँड्न सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो । उहाँले सञ्चारकर्मीहरूले सत्ताको पक्षमा होइन, जनपक्षीय धारमा रहेर कलम चलाउनुपर्ने बताउनुभयो । स्मृति सभामा भोटराज राई, अभिमन्यु लामिछाने लगायतका वक्ताहरूले स्वर्गीय इच्छुकको व्यक्तित्व, योगदान र पत्रकारितामा पुर्याएको भूमिकामाथि प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा जिल्लाका सञ्चारकर्मी, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
