
पूर्णपुष्टि, असार २४ । उदयपुरको रौतामाई गाउँपालिकामा एक दुःखद घटना घटेको छ। शनिबार अमृत खोलाले बगाउँदा ५ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार, रौतामाई गाउँपालिका वडा नं ४ आपँटार निवासी नरेन्द्र राईका ५ वर्षीय छोरा राज राईलाई अमृत खोलाले बगाएको थियो।
खोलाले बगाएको स्थानबाट करिब १०० मिटर तल बालकको शव मृत अवस्थामा फेला परेको डिएसपी चापागाईले बताए। घटनाको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोष्ट रौतापोखरीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी मृतक बालकको शव आफन्तलाई बुझाएको जनाएको छ। यस दुःखद घटनाले स्थानीय समुदायमा शोकको वातावरण छाएको छ। स्थानीय प्रशासनले वर्षायाममा खोला नाला नजिक जाँदा सावधानी अपनाउन र बालबालिकालाई विशेष निगरानीमा राख्न आग्रह गरेको छ।
