
२६ फागुन , २०८२ । उदयपुर
गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराई चुनाव लडेका उदयपुरका २१ जना उम्मेदवारहरुको जमानतजफत भएको छ ।
मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययका अनुसार उदयपुरको दुई निर्वाचन क्षेत्रमा कुल ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा दुई स्वतन्त्रसहित २१ जनाले खसेको कुलमतमध्ये सदरमतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरुको समानत जफत भएको हो । जमानत भन्नाले उम्मेदवारी दर्ता गराउँदा निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने निश्चित शुल्क हो । उम्मेदवारहरुले जनही १० हजारका दरले जमानत बुझाएका थिए ।
एक स्वतन्त्रसहित कुल १८ जनाले उम्मेदवारी दर्ता गराएको उदयपुर–१ मा १३ जना र एक स्वतन्त्रसहित कुल १३ जनाले उम्मेदवारी दर्ता गराएको उदयपुर–२ मा ८ जना जमानत जफतमा परेका छन् ।
दुबै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको उदयपुरमा उदयपुर–१ मा पारशमणि गेलाल र उदयपुर–२ मा सुर्य तामाङ विजयी उम्मेदवार हुन् । उनीहरुपछि पाँचौस्थानसम्म आएका श्रम संस्कृती पार्टी, नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारको जमानत जोगिएको छ । बाँकी सबैको जफतमा परेको हो ।
उदयपुर–१ मा ११ हजार ६६० दोस्रोमतका साथ श्रम संस्कृतीका राजेशकुमार राई, १० हजार २१ तेस्रोमतमा नेपाली कम्युनिष्ट पार्टीका बलदेव चौधरी, ९ हजार ६७५ चौथोमतमा नेपाली कांग्रेसका विदुर बस्नेत र ९ हजार २०६ पाँचौमतमा नेकपा एमालेका दुर्गाकुमार थापा स्वस्तीको जमानत जोगिएको हो ।
यहाँ कुल खसेको मतमध्येको सदर मत ७३ हजार ९१६ मा ७ हजार ३९२ भन्दा बढि मत ल्याउने यी पाँच उम्मेदवारमात्र हुन् । बाँकी उम्मेदवारको ९४१ भन्दा कम मत आएको थियो । यहाँ ५ हजार ५४७ मत बदर भएको थियो ।
उदयपुर–२ मा ७ हजार ६४८ दोस्रोमतमा नेकपा एमालेका अम्बर रायमाझी, ७ हजार २९० तेस्रो मतमा नेपाली कांग्रेसका रामकुमार राई, ५ हजार ११७ चौथोमतमा नेपाली कम्युनिष्ट पार्टीका सुरेशकुमार राई र ४ हजार १३९ पाँचौ स्थानमा श्रम संस्कृतीका बलराज राईको जमानत जोगिएको छ । यहाँ कुल खसेको मतमध्ये सदरमत ४० हजार ७६५ मा ४ हजार ७६ भन्दा बढि मत ल्याउनेमा यी पाँच उम्मेदवारमात्र परेका हुन् । बाँकी आठजनाको मत ६०७ भन्दाकम मत आएको छ । यहाँ ३ हजार ८७८ मत बदर भएको थियो ।
जमानत जफत हुनेहरुमा उदयपुर–१ का सबैभन्दा कम ३० मत आउने नेपाल जनमुक्ती पार्टीका गोकर्ण राई रहेका छन् । ४४ मत पाउने राष्ट्रिय जनमोर्चाका लिलबहादर राई र त्यतिनै मत पाउने नागरिक सर्बोच्चता पार्टी नेपालका प्रशान्तकुमार राई, ४८ मत पाउने नेपाल मजदुर किसान पार्टीका विष्णुबहादुर खत्री, ४९ मत पाउने आम जनता पार्टीका मनोजकुमार पौडेल रहेका छन् । त्यस्तै ८४ मत पाउने स्वतन्त्र उम्मेदवार देवराज रोका, ८५ मत पाउने नेपाली जनता दलका कुशेश्वर चौधरी, १०१ मत पाउने संयुक्त नागरिक पार्टीका सुरेस राई, ११२ मत पाउने नेपाल कम्युनिष्ट पार्टी (माओवादी) विप्लबका अमृतबहादुर खत्री, १२० मत पाउने मंगोल नेशनल अर्गनाइजेशनका बद्रीविक्रम राई रहेका छन् । त्यसै ५६४ मत पाउने उज्यालो नेपाल पार्टीका अर्जुन तामाङ, ५९७ मत पाउने जनता समाजवादी पार्टीका गणेशकुमार राई र ९४१ मत पाउने राष्ट्रिय प्रजातन्त्र पार्टीका सुभासचन्द्र खड्काको जमानत जफत भएको हो ।
त्यसैगरी जमानत जफत हुने उदयपुर–२ का उम्मेदवारहरुमा सबैभन्दा कम ४० मत आउने नेपाल मजदुर किसान पार्टीका पूर्णबहादुर बुढाथोकी रहेका छन् । ८५ मत आउने आम जनता पार्टीका बमबहादुर मगर, ९० मत आउने स्वतन्त्र उम्मेदवार मेजरकुमार राई रहेका छन् । त्यसैगरी १०३ मत आउने जनता समाजवादी पार्टीका केशबहादुर मगर, १५२ मत आउने नेपाल कम्युनिष्ट पार्टी (माओवादी) विप्लबका दुर्गाबहादुर तामाङ, २२० मत पाउने राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुबहादुर खड्का रहेका छन् भने ३८३ मत पाउने मंगोल नेशनल अर्गनाइजेशनका भाष्कर राई र ६०७ मत पाउने राष्ट्रिय परिवर्तन पार्टीका अरुण राई रहेका छन् ।
