
पूर्णपुष्टि, माघ २७ गते । उदयपुरमा मानब बेचबिखन गर्ने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर चौदण्डिगढी नगरपालिका–२ की ४० बर्षीया कुमारी परियार र सप्तरी कंचनरुप नगरपालिका–८ बस्ने २७ बर्षीय महमद नजिर रहेका छन् ।
गत माघको २५ गते चौदण्डिगढी नगरपालिका–२ मा बस्ने तीन जना महिलाहरुलाई बिभिन्न मापदण्ड सहित उचाई ५ फिट ५ ईन्च भएमा १० लाख रुपैया सम्म दिने भनि आर्थिक प्रलोभनमा पारी घरबाट टेम्पोमा चढाई शोषण गर्ने उदेश्यले नजिरको ग्यारेज भएको घरमा पुर्याएका थिए ।
ग्यारेज पुगेकी ती महिलाहरुले बुझ्दा उक्त ठाउबाट पुर्ण अर्को ठाउँमा आफुहरुलाई लान खोजे पश्चात उनीहरु आफु बेचबिखनमा पर्न लागेको थाहा पाई सो स्थानबाट भागेका थिए । भागेर आ–आफ्नो घर आई परिवारलाई जानकारी गराए पश्चात पिडितका आफन्तले माघ २६ गते ईलाका प्रहरी कार्यालय बेल्टारमा जाहेरी दिएका थिए ।
जाहेरी पश्चात ईप्रका बेल्टारवाट खटिएको प्रहरी टोलीले परियार र नजिरलाई पक्राउ गरेका प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैको ईलाका प्रहरी कार्यालय बेल्टारले राखि प्रारम्भिक अनुसन्धान पश्चात जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धाान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत डिएसपी राकेश कुमार पोदारले जनाकारी दिएका छन् ।
