
पूर्णपुष्टि, असोज १४ गते ।
उदयपुरमा प्रस्तावित सगरमाथा विमानस्थलको चर्चा सुरु भएको झण्डै पाँच दशकपछि काम सुरु गरिएको छ । त्रियुगा नगरपालिका–१ र २ को जोगिदहमा विमानस्थल बन्ने सुनिश्चितता भएसँगै त्यस क्षेत्रका वनजंगल फडानी गरी कामलाई तीव्रता दिएको हो । ।
‘एक जिल्ला एक विमानस्थल, एक गाउँ एक हेलिप्याड’ निर्माण गर्ने नेपाल सरकारको घोषित नीति अनुसार राष्ट्रिय योजना आयोगले सगरमाथा आन्तरिक बिमानस्थललाई राष्ट्रिय प्राथमिकता योजनामा समाबेस गरि काम अघि बढाएको थियो ।
बिमानस्थलको भौतिक पूर्वाधार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने वन तथा भूसंरक्षण विभाग र नेपाल नागरिक उड्डयान प्राधिकरणबीच २०७८ माघ २४ सम्झौता भएसँगै वन क्षेत्रको रुख कटान सुरु गरिएको हो । सम्झौताअनुसार प्राधिकरणले १८ हजार ४ सय २३ रुख कटानका लागि बोलपत्र आव्हन गरेको थियो ।
वोलपत्र अनुसार अरुण मा दुर्गा जेवीले भ्याटसहित २ करोड ६४ लाख मुल्यमा रुख कटानको जिम्मेवारी लिएको सञ्चालक वलराम नायकले बताए । उनका अनुसार २०७९ असोज ७ गते सम्झौता भई आउँदो पुस ९ गतेसम्म काम सम्पन्न गरिसक्नुपर्ने छ ।
विमानस्थल बनाउने चर्चा ४९ वर्षअघिबाट सुरु भएको थियो । केही समयअघि विमानस्थलको काम अघि बढाउने भन्दै वन क्षेत्रमा रूख कटानका लागि छपानसमेत भएको अधिकारीले बताए । यसअघि सगरमाथा विमानस्थल चुनावी नारा मात्र बन्ने गरेको थियो । विमानस्थल निर्माणका लागि डिपिआर तयार भइसकेको छ भने प्रारम्भिक प्राविधिक सर्भे र वातावरणीय प्रभाव मूल्यांकनसमेत गरिसकिएको छ । प्राविधिक सर्भे र वातावरणीय प्रभाव मूल्यांकन हुनुभन्दा अगाडि तीन अलग–अलग ठाउँमा तीनपटक सारेर शिलान्यास गरिएको थियो । हाल सो विमानस्थल त्रियुगा नगरपालिका १ र २ मा पर्ने जोगिदहमा निर्माण गर्ने भनिएको छ ।
जोगिदहमा बर्खामा कुहिरो र हिउँदमा हुस्सु नलाग्ने भएकाले निर्माण गर्न उपयुक्त हुने प्राविधिक प्रतिवेदनले ठहर गरेको छ । प्राविधिक डिजाइनअनुसार विमानस्थलमा एटिआर ७२ डिजाइनको जेटस्टिम एभ्रो बिमान उडान र अवतरण गर्न राखिएको छ । १ हजार ७ सात सय ५० मिटर लामो र ३० मिटर चौडाइ भएको धावन मार्ग, २ सय मिटर लामो र ६० मिटर चौडाईको एप्रोनसहितको टर्मिनल भवन, कर्मचारी भवन र ट्याक्सीवे २ वटा समेतको प्रस्ताव गरिएको छ ।
जोगिदह क्षेत्रमा सामुदायिक वन समुहले १ सय ५ बिगाहा जमिन बिमानस्थल निर्माणका लागि निःशुल्क उपलब्ध गराएको छ ।
