Tuesday, June 9News That Matters

उपचारको क्रममा बिते रवी लामिछानेको चालक

पूर्णपुष्टि, १९ वैशाख । घरको छतबाट लडेर गम्भीर घाईते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन भएको छ। गम्भीर घाईते भएर उपचार भैरहेको दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

अस्पताल स्रोतका अनुसार दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो । आफन्तले उनको शव अस्पतालबाट लिएर गइसकेका छन्। सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान पौने ४ बजेतिर थापा घरको छतबाट खसेका थिए । सुरूमा भरतपुरमै उपचार गरेपछि थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार थालिएको थियो । सुरूदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भएको थियो ।

घटना भएको रात रास्वपाका महामन्त्री डाक्टर मुकुल ढकालका चालक पनि थापासँगै सुतेका थिए। थापा राति छतबाट खसेपछि चितवन प्रहरीले उक्त घटनाको अनुसन्धान गरेको थियो।

अनुसन्धानमा उनले राति रक्सी खाएको र त्यसैको नसामा हिँडदा छतबाट खसेको हुनसक्ने देखिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए । ‘अरू कुनै कारण देखिएन,’ उनले भने । प्रहरीले उनीहरूको कोठाबाट रक्सीका बोतल फेला पारेको थियो।