
पूर्णपुष्टि, भदौ २५ ।
नेकपा एमाले उदयपुरले नवगठित पार्टी नेकपा एकिकृत समाजवादी पार्टी (नेकपा एस) रोजेका जनप्रतिनिधिलाई एमालेमै फर्कन दवाव दिदै दुई दिनको अल्टिमेटम दिएकोछ । दशबुँदे सहमति कार्यान्वयन सम्बन्धि अध्यक्ष इश्वरमणि राउतको अध्यक्षतामा बुधबार बसेको सचिवालय बैठकले अल्टिमेटम दिएको हो । सो अवधिमा नफर्किएर कारवाही गर्ने जनाएको छ ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राउतले विभिन्न प्रलोभनमा परेका जनप्रतिनिधि, नेता र कार्यकर्तालाई इमादारितापूर्वक पुरानै घर फर्किन आग्रह गरे ।

उनले दश बुँदे सहमति अक्षर–अक्षर कार्यान्यन गर्न पार्टी नेतृत्व तयार रहेको भन्दै कम्युनिष्ट आन्दोलनबाट नभाग्न आग्रह गरे । अध्यक्ष राउतले २०७५ जेठ २ को संरचनाअनुसार पार्टी जिल्ला कमिटी १ सय ३ जनाको र ३५ जनाको सचिवालय रहेकाले त्यसैलाई कायम गर्दै क्षेत्र, नगर, गाउँपालिका, वडा र जनवर्गिय संगठन, इन्र्चाज, सहइन्र्चाजहरु पर्नुस्थापित हुने बताए ।
पार्टी सचिब परमेश्वर घिमिरेले पार्टी २०७५ जेठ २ मा फर्किसकेकाले एकताबद्ध एमाले बनाउने गरी गाउँघरसम्म पुग्ने गरी अभियान सञ्चालन गरिने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै एमाले केन्द्रिय सदस्य तथा पुर्वराज्य मन्त्री मन्जु चौधरीले पार्टी विभाजन नभई चोईटिएको टिप्पणी गरिन । प्रदेश कमिटी सदस्य तथा सांसद अम्बिका थापाले देशभरको माहोलले चोईटिएर जानेहरुलाई ठुलो धक्का दिएको बताईन् । अर्का प्रदेश कमिटी सदस्य अम्बरबहादुर रायमाझीले अन्य पार्टीका नेता कार्यकर्ताहरुसँग पनि नीयमित कुरा भईरहेकाले विशाल पार्टी बनाउने अभियानमा जुटेको बताए ।
त्यसैगरी एमाले युवा नेता तथा सचिवालय सदस्य भागवत राउतले पदिय आश र साम्प्रदायिक सोचबाट ग्रसितहरुका कारण उदयपुरमा पार्टी चोईटिन पुगेको बताए ।
उदयपुरमा निर्वाचन आयोगले तोकेको समयसिमा भित्र एमालेबाट २८ जना जनप्रतिनिधिले सनाखत गरेका छन् । सनाखत गरेका सबै तत्कालिन नेकपा एमालेको सुर्य चिन्हबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
अध्यायदेशबाट विभाजन भएका नेकपा एमाले र जनता समाजबादी पार्टीका जनप्रतिनिधिलाई भदौ २२ गते मंगलबारसम्म आयोगले दल रोज्ने अधिकार दिएसँगै उनीहरले नेकपा एकिकृत समाजवादी पार्टी (नेकपा एस) रोजेका हुन् ।
एमालेका उपाध्यक्ष विमल कार्कीका अनुसार स्थानीय तहमा एमालेका जनप्रतिनिधिको संख्या २ सय १० रहेका छन् । ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ स्थानीय तहमा ७५ वटा वडा रहेको उदयपुरमा एमालेबाट नगर प्रमुख संख्या ३, उपप्रमुख २, गाउँपालिका प्रमुख ३, उपप्रमुख ३, वडाध्यक्ष ३१ जनाले जितेका थिए । त्यसैगरी जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुखसहित सबै सेट नै एमालेबाट विजयी भएका थिए । पत्रकार सम्मेलनमा एमालेका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी, सचिवालय सदस्यहको उपस्थिति रहेको थियो ।
