Wednesday, April 22News That Matters

केरलको वायनाडमा बाढीपहिरो : १ नेपाली बालकसहित ५० जनाको मृत्यु

पूर्णपुष्टि, साउन १५ । भारतको केरल राज्यको वायनाड जिल्लामा आएको बाढी र पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ। मृतकहरूमा एक नेपाली बालक पनि रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मंगलबार बिहान वायनाडको मेप्पाडी क्षेत्रमा भारी वर्षापछि आएको बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको हो। टाइम्स अफ इन्डिया र एनडीटीभीका अनुसार थोन्डरनाड क्षेत्रमा एक नेपाली परिवारका १ वर्षीय बालकको मृत्यु भएको छ। स्थानीय समाचार संस्था मनोरमाका अनुसार ७० भन्दा बढी व्यक्तिलाई अस्पताल लगिएको छ र ४ सयभन्दा बढी परिवार विस्थापित भएका छन्। बाढीपहिरोमा फसेका २५० भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको छ।

केरलका मुख्यमन्त्री पिनराई विजयनले उद्धार कार्य जारी रहेको जानकारी दिएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै प्रतिपरिवार २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्। वायनाडका सांसद तथा कांग्रेस नेता राहुल गान्धीले उद्धार कार्यमा सहयोग गर्न आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन्।