
पूर्णपुष्टि, साउन १७ । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक कैदी उपचारका लागि भर्ना गरिएको कोशी अस्पतालबाट फरार भएका छन्। २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद बिहीबार बिहान सवा ५ बजेतिर अस्पतालबाट फरार भएको प्रहरीले जनाएको छ।
पेट दुख्ने समस्याका कारण मंगलबार उपचारका लागि अस्पताल भर्ना गरिएका अहमद शौचालय जाने क्रममा निगरानीमा खटिएका प्रहरीलाई धकेलेर लडाउँदै भागेका हुन्। कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार विराटनगर महानगरपालिका–८ का अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन्। जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते उनलाई १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला सुनाएको थियो।
प्रहरीले भारततर्फ भाग्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएको छ। अदालतको फैसला अनुसार अहमद २०९१ साल फागुन ३ गतेसम्म कारागारमा रहनुपर्ने थियो।
