
पूर्णपुष्टि, असोज ११ । अत्यधिक वर्षाका कारण नेपालका १४ वर्षा मापन केन्द्रमा चेतावनीको तह पार भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, यी केन्द्रहरू मुख्यतया कोशी प्रदेशमा अवस्थित छन् । मोरङ, झापा, उदयपुर र इलाम जिल्लाका साथै मधेश प्रदेशको सप्तरी र लुम्बिनीको पाल्पामा पनि अत्यधिक वर्षा भएको छ ।
सप्तरी र मोरङका केही स्थानहरूमा वर्षाले खतराको तहसम्म पुगेको छ । झापा जिल्लाका विभिन्न स्थानहरूमा पनि वर्षा खतराको तहमा पुगेको छ । २४ घण्टाको अवधिमा झापाको चन्द्रगढी विमानस्थलमा सबैभन्दा बढी २३२.२ मिलिमिटर वर्षा मापन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशभर मनसुन सक्रिय रहने जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । यसले गर्दा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । जोखिम बढेपछि सरकारले आज असोज ११ र भोलि १२ गते दुई दिन रात्रि बस सेवा नचलाउन निर्देशन दिएको छ । मौसमविदहरूले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा पनि आंशिक असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएका छन् ।
