Thursday, May 21News That Matters

कोशी प्रदेशमा पहिलो लगानी सम्मेलन माघमा हुने

पूर्णपुष्टि, असोज १४ ।  कोशी प्रदेश सरकारले आगामी माघ महिनामा प्रदेशको पहिलो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । माघ ११, १२ र १३ गते हुने यो सम्मेलनको उद्देश्य प्रदेशमा लगानीको वातावरण सिर्जना गर्नु र औद्योगिक विकासको सन्देश दिनु रहेको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सम्मेलनको अवधारणा पारित गरी मिति तय गरेको हो । चालू आर्थिक वर्षको बजेटमा यस कार्यक्रमका लागि करिब ३ करोड रुपैयाँ छुट्याइएको छ ।

प्रदेश लगानी प्राधिकरणले सम्मेलनको समन्वय, सहजीकरण र लगानीका क्षेत्रहरू निर्धारण गर्नेछ । नेपाल, भारत र अन्य देशका लगानीकर्ताहरूलाई सम्मेलनमा आमन्त्रण गरिने योजना रहेको छ । मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीका अनुसार सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा निजी क्षेत्रलाई प्रदेश विकासमा अधिकतम रूपमा संलग्न गराउने लक्ष्य राखिएको छ । सम्मेलनको तयारीका क्रममा प्रदेश सरकारले आवश्यक कानुन संशोधन तत्कालै गर्ने तयारी गरेको छ ।