
पूर्णपुष्टि, जेष्ठ २६ । सुख्खा खडेरी बढ्न थालेपछि उदयपुर जिल्लामा मकैको बोट मर्न थालेको छ । केहि दिन यता अत्याधिक गर्मी बढ्न थालेपछि जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा मकैको बोट मर्न थालेको किसानाहरु बताउछन् । त्रियुगा नगरपालिका क्षेत्रका खैराहा, पोर्ताह, लक्ष्मीपुर, विसनपुर, जोगिदह, मोथ्याई, खैजनपुर भुल्के, मोतिगडासहित, बगाहा, श्रीपुर क्षेत्रका खेतका मकैका बोट मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।
खैराहाका किसान विष्णु कार्कीले यसपटक आफ्नो झण्डै एक बिघा रहेको खेतमा मकैबाली लगाएका थिए भने जेठको दोस्रो हप्तादेखि राम्ररी मकैको सुत्ला लाग्न थालेको बताएका छन् । तर सुक्खा र खडेरी लागेपछि अहिले पात मर्न थाल्यो ‘उनले भने’ मकैको बोट पात सुकेर सिक्रिक्क परिसकेका छन् । यसपालिको मकैबाली खान नपाईने उनको गुनासो थियो ।
पोर्ताहका किसान देवीलाल चौधरीले आफ्नो खेतमा लगाएको मकैबाली सुरुमा राम्रो भएतापनि सुक्खा खडेरी लाग्न थालेपछि मकैको बोट मर्न थालेको बताएका छन् । अहिले खेतको अधिकांश मकैका बोटमध्ये ५० प्रतिशत बोट त सुकी नै सकेको उनले बताए । भर्खर सुत्ला लाग्दै गरेको मकैको बोट धमाधम सुक्न थालेपछि लक्ष्मीपुर क्षेत्रका किसानसमेत चिन्तित बन्न पुगेको छन्।
जोगिदहका किसानका अनुसार यस क्षेत्रका खेतमा लगाइएको मकैको बोटमध्ये झन्डै २५ प्रतिशत बोट मर्न थालिसकेको छ । अझै केही दिन सुक्खा खडेरी नै रहने सम्भावना रहेका कारण मेहनत गरेको खडेरीले लगेपछि निराश बन्न पुगेको बताउँछन्।
मकैको बोट खडेरीले मर्न थालेपछि कतिपय किसानले बोरिङ र घरको कलको मोटरबाट खेतमा सिँचाइ गरेर मकैको बोट बचाउने प्रयास गरेको लक्ष्मीपुरका छेदीलाल चौधरीले बताएका छन् । उनका अनुसार घरभन्दा टाढा सुक्खा खेतमा मकैखेती गर्नेका मकैका बोट सुकेर नै मर्न थालेको छ ।
