
पूर्णपुष्टि, २ कार्तिक ।
खोटाङका बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा माओवादी सांसद राम कुमार राई (पासाङ्) सहितको टोलीले बाढी पहिरोले खोटाङमा गरेको क्षती तत्काल पून : निर्माण गर्न सरकार सँग माग गरेको छ । राईको नेतृत्व टोली खोटाङमा एक अर्ब बढीको क्षती पुगेको भन्दै क्षती विवरण सहित ध्यानाकर्षण पत्र लिएर प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेका थिए । उनिहरुले खोटाङको अवस्था सहज बनाउन तत्काल भौतिक संरचनाहरुको निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराएको हो । उदयपुर खोटाङ् जोड्ने फोक्सिन्टारको आर्क बृज पुल सहित सडक, सिंचाई र वस्तीहरुमा क्षती पुगाएको छ । अत्यावश्यक भौतिक संरचनाहरु ठप्प हुँदा खोटाङवासीहरुलाई समस्या परेको ध्यानाकर्षणमा उल्लेख गरिएको छ ।
गएको असोज १२ गतेको वर्षाले जिल्लामा गरेको क्षतिको पुननिर्माण गर्न तथा पीडितलाई आवश्यक राहत उपलब्ध गराउन सांसद राईले सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रदेशसभा तथा स्थानीयतका जनप्रतिनिधि र अगुवा नागरिकसहितको सर्वदलीय, सर्वपक्षीय टोलीका साथ सिंहदरवार पुगेका राईले क्षतिको विवरणसहित तत्काल पुननिर्माण र मर्मतसंभार तथा राहत उपलब्ध गराउन प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षणपत्र बुझाए ।
बाढी पहिरोले जिल्लामा अर्बभन्दा बढीको क्षति गरेको जानकारी गराउँदै राईले ध्वस्त भौतिक पूर्वाधार संरचना छिटोभन्दा छिटो मर्मत संभार र पुननिर्माण गरेर जनजीवन सहज बनाउन माग गरे । असोज १२ को बाढीले खोटाङ र उदयपुरबीचको फोक्सिन्टारस्थित पक्की र झोलुङ्गे पुलहरु बगाएर ध्वस्त पारेपछि उदयपुर हुँदै तराई जिल्ला तथा प्रदेश राजधानी विराटनगर आउजाउ बन्द भएको छ ।
यसरी प्राकृतिक नाकाबन्दीमा परेको जिल्लाबासीको जनजीवन सहज बनाउन ध्यानाकर्षण गराउँदै उनले त्यसका लागि राज्यले तत्काल काम सुरु गर्न माग गरेका छन् । गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेल जोड्ने सगरमाथा लोकमार्गको फोक्सिन्टारस्ति सुन नदीको एक मात्र पक्की मोटरेबल पुल बाढीले भत्काएपछि खोटाङ प्राकृतिक नाकाबन्दीमा परेको छ ।
फोक्सिन्टारको पुल बगेसँगै राजधानी काठमाडौँ आउजाउ गर्ने एक मात्र बैकल्पिक मार्ग ‘पुष्पलाल मध्यपहाडी लोकमार्ग’ पनि दर्जन हाराहारी ठाउँमा भत्के बिग्रेको जानकारी प्रधानमन्त्रीलाई गराएको सांसद राईले बताए । जिल्लाबासीका लागि सबभन्दा सजिलो र बीचमा पर्ने नाका फोक्सिन्टारको पुल नै बगेको, फोक्सिन्टारभन्दा तल र माथि सुन नदीकै ६ वटा झोलुङगे पुलहरु प्नि भत्केकाले दुई जिल्लाबासीलाई आउजाउ गर्न धेरै कठिनाई भईरहेको कुरा जानकारी गराएको उनले बताएका छन् ।
