
सुनिल राई, गाईघाट । भदौ ९ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले चाडपर्व लक्षित गाईघाटका मिठाई पसलहरुमा अनुगमन गरेको छ । सोमबार सहायक जिल्ला अधिकारी बिक्रम प्रसाद पाण्डेय र प्रशासकिय अधिकृत नवराज खड्का नेतृत्वको अनुगमन टोलीले तिन वटा मिठाई पसल र एक किराना पसल अनुगमन गरेको हो ।
अनुगमनको क्रममा तिन वटा मिठाई पसल मध्ये एक मिठाई पसललाई ५ हजार रुपैँया जरिवाना गरिएको छ । अनुगमन टोलीले पुजा मिष्ठान भण्डार मिठाई पसललाई किचेनको सरसफाईमा ध्यान नदिएको भन्दै ५ हजार रुपैँया जरिवाना गरेको छ भने खान नहुने भईसकेको तेल र सोही तेलमा तारिएको समोसा समेत बरामद गरेको छ । अनुगमन टोलीले उक्त मिठाई पसलदेखी ४३ लिटर तेल र १० केजी समोसा बरामद गरी नष्ट गरेको छ ।
त्यस्तै अनुगमन टोलीले मा जाल्पा सप्लायर्स किराना पसलबाट म्याद गुज्रिएको खाद्यन्न सामाग्री बरामद गरी नष्ट गरेको छ । अनुगमनको क्रममा बरामद गरिएको पिठो (आटा), बेसन, भुजिया, दाल्मोट लगायतको करिब ३० हजार रुपैँया बराबरको खाद्यन्न समाग्री त्रियुगा खोलमा लगेर नष्ट गरिएको हो ।
अनुगमन टोलीले मिठाई पसल र किराना पसलबाट करिब ४४ हजार रुपैँया बराबरको सामाग्रीहरु बरामद गरी नष्ट गरेको हो । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला वाणीज्य संघ उदयपुरले संयुक्त अनुगमन गरेको हो ।

