
पूर्णपुष्टि, साउन ३१ । उदयपुरको सदरमुकाम गाईघाटमा (भोली) भदौ १ गते हाँस्यकलाकार गणेश इशारा राईको ‘अल नेपाल एकल कमेडी सो २०८२’ हुने भएको छ । गाईघाट स्थित श्रीराम जानकी पार्टी प्यालेसमा हुने यो कार्यक्रम एक्सन इन्टरटेन्मेन्ट प्रा.ली.को आयोजनामा हुनेछ ।
कलाकार इशारा राई विगत २०५४ सालदेखि समाजसेवामा संलग्न रहँदै आएका छन् । उनले मुटुरोगी, मृगौला रोगी, वृद्धाश्रमका बासिन्दादेखि विभिन्न पीडितहरूलाई उपचार र सहयोग गर्न महत्वपूर्ण योगदान पुर्याएका छन् । कलाकार राईले आफ्ना हजुरआमाको सम्झनामा ‘वीरमाया राई स्मृति कोष’ स्थापना गरेका छन् । यो कोषको उद्देश्य आउँदा दिनहरूमा विभिन्न समस्यामा परेका दुःखी पीडितहरूलाई सहायता गर्नु रहेको उनले बताए ।
कलाकार राईका प्रमुख कृतिहरूमा गाईजात्रा, कोसेली, सदनहल, भट्टपसल उस्तै, साढे तन्त्र र भद्रगोल रहेका छन् । उनले दर्जनौं संगीत भिडियोको निर्देशन र थुप्रै कार्यक्रमहरूको आयोजना गरेका छन् । कलाको माध्यमबाट कार्यक्रम आयोजना गरी इशाराले धेरै मुटु र मृगौला रोगीहरूको उपचार खर्च जुटाउने काम गरेका छन् । उनले सहयोग गरेका व्यक्तिहरूमा खोटाङका हस्तबहादुर तामाङ, भोजपुरकी सिर्जना राई, दोलखाकी कौशिका ठकुरी, झापाकी ललिता चाम्लिङ सुब्बा र भोजपुरका मुटुरोगी राजेन्द्र राई लगायत रहेका छन् ।
