
पूर्णपुष्टि, कार्तिक ५ । नेपाली अल्ट्रा धाविका सुनमाया बुढाले चीनको निन्घाई बाई युटिएमबी अल्ट्रा ट्रेल रेसमा कीर्तिमानी समयसहित उपाधि जितेकी छिन् । शनिबार सम्पन्न प्रतियोगितामा उनले ६० किलोमिटरको दूरी ५ घण्टा ४० मिनेट ३ सेकेन्डमा पूरा गरिन् ।
“ट्रेल अमेजिङ थियो। मैले रेस एकदम इन्जोए गरें। धेरै समर्थकहरु चियर गरिरहेका थिए। म एकदमै खुशी छु,” विजेता बुढाले प्रतिक्रिया दिइन् । प्रतियोगितामा इस्टर सिलाङ ६ घण्टा ५ मिनेट ३७ सेकेन्डको समयसहित दोस्रो र रुक्षफाङ चोउ तेस्रो स्थानमा रहिन् ।
पछिल्लो समय अन्तर्राष्ट्रिय ट्रेल रेसहरुमा सक्रिय बुढाले यसअघि गत चैतमा चीनकै गोल्डेन कोस्ट ट्रेल रेसको उपाधि जितेकी थिइन् । उनी युरोपका विभिन्न राष्ट्रमा आयोजित ट्रेल रेस प्रतियोगितामा समेत सहभागी भइसकेकी छिन् ।
