
पूर्णपुष्टि, बैशाख २६ । आर्घाखाँचीमा जंगलमा लागेको आगो बस्तीमा पस्दा ५ जना जलेर घाईते भएका छन् । भूमिकास्थान नगरपालिका वडा नं. २ तिरतिरे खोलाको जंगलमा मंगलबार बिहानैदेखि लागेको आगो बस्तीमा पस्दा जलेर ५ जना गम्भिर भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार जंगलमा लागेको आगो एक्कासी बस्तीमा पस्दा स्थानीय ५५ वर्षीय पदम बेलबासेको टिनले छाएको २ तले कच्ची घरमा आगलागी भएको हो। घरमा आगलागी भएपछि आगो निभाउने क्रममा घरधनी पदम बेलबासे, ३६ वर्षीय माधव बेलबासे, ५२ वर्षीय घनश्याम बेलबासे, ७२ वर्षीय पिताम्बर बेलबासे र २६ वर्षीय अस्मिता बेलबासे घाइते भएका छन् ।
