
पूर्णपुष्टि, माघ २७ गते । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–६ स्थितमा ट्रयाक्टर दुर्घटना हुँदा एक जना बृद्धाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा म्याङलुङ–६ कि ७६ बर्षीया हर्क मोती लिम्बु रहेकि छन् ।
हिजो राती साढे ८ बजे तेह्रथुमको बसन्तपुरबाट खाना पकाउने ग्याँस सिलिण्डर बोकी सदरमुकाम तर्फ जाँदै गरेको को.१ त ५५३८ नम्वरको ट्रयाक्टरले पैदल यात्री स्थानिय ६२ बर्षीय दल बहादुर लिम्बुलाई ठक्कर दिएको थियो । ठक्कर दिएको ट्रयाक्टर अनियन्त्रित भई सडक मुनी रहेको बिशाल लिम्बुको भान्साघर माथि पल्टदा आगो ताप्दै गरेकि लिम्बुको आमा हर्क मोती समेत घाईते भएकी थिईन् ।
दुबै घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा हर्क मोतीको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाईते लिम्बुलाई थप उपचारको लागि धरान घोपा पठाईएको छ । ट्रयाक्टर चालक म्याङलुङ १ का देश बहादुर लिम्बुलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
