Wednesday, April 22News That Matters

ताप्लीमा कृषि सामग्री खरिद अनियमितता बारे एक सप्लायर्सले लाए फेसबुके आरोप, आफुले नपाएको रिसमा अतिरञ्जित गरेको पालिकाको प्रतिआरोप

पूर्णपुष्टि, असार २९ ।
उदयपुरको ताप्ली गाउँपालिकाले किसानहरुलाई कृषि सामग्री खरिद, वितरण र भुक्तानीमा अनियमितता भएको भन्दै एक सप्लायर्सले आरोप लगाएको छ । प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा वितरण गर्नुपर्ने कृषि सामग्रीको सन्दर्भमा भुगोल एग्रो एण्ड मल्टी सप्लायर्स, गाईघाटका प्रोपाइटर भरत खत्रीले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएको हो । उनले कृषि सामग्री खरिद अघि नै भुक्तानी गरेर कमजाेरी भएकाे भनेका छन् ।
ब्यक्तिगत फाइदा नभएपछि सप्लायर्सका प्रोपाइटर खत्रिबाट अनावश्यक भ्रम फैलाउने काम भएको र सामान्य विषयलाई अतिरन्जित बनाउने प्रयास भएको गाउँपालिकाका अध्यक्ष ढुंगराज वि.क.को भनाई छ । किसानहरुले पाउने कृषि सामग्रीबारे पालिका सम्बेदनशिलरुपमा लागि रहेको र भोली वितरणको तयारी रहेको अध्यक्ष वि.कले बताए ।

“सामाजिक सञ्जालको दुरुपयोग गर्दै भ्रम फैलाउने र अतिरन्जित बनाउने कोशिस भएको छ ।” अध्यक्ष वि.क.ले भने “प्रक्रियागतरुपबाट खरिद, वितरण र भुक्तानी हुनेमा सबैजना ढुक्क हुदाहुन्छ ।”

पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनाेजकुमार मगरले फेसबुकमा प्रचारबाजी गरिएजस्ताे नभई सम्पूर्ण प्रक्रिया पूरा गरिएकाे  बताए ।

सप्लायर्स खत्रीले केही दिन यता निरन्तर आफ्नाे फेसबुकमा आरोपयुक्त स्टाटस् र लाइभसमेत गर्दै आएका छन् । सबै सामग्री आफैले सप्लाइ गर्न पाउनुपर्ने माग र दवाव दिइरहेका खत्रीले नपाएपछि फेसबुकबाजी गरेको पालिकाका स्टोर किपर लोकबहादुर थापाले बताए ।
“खत्रीले सबै कृषि सामग्री आफ्नाे साप्लायर्सबाट खरिद गराउने कोशिस गरेका थिए । तर, उनको दररेट भन्दा कम अन्य सप्लायर्सको आएपछि अन्त खरिद गरियो ।” थापाले भने “नपाएको रिसमा सामाजिक सञ्जालबाट सो विषयलाई अतिरन्जित बनाइ छरपष्ट बनाउने काम भइरहेको छ ।”
सप्लायर्स खत्रीले आफुलाई काम गर्ने माहौल बनाउनु भन्दै पटक पटक म्यासेज तथा कल गरेको र नेताको सोर्सफोर्स र दवावसमेत दिएको उनले बताए ।

खत्रीले असार ४ गते “मिनि टिलरको काम अगाडी बढाउनु पर्यो सर, लौन काम गर्ने माहौल मिलाउनु” भन्दै गरेको म्यासेज सार्बजनिक भएको छ । उनले भनेको मिनिटिलरको दररेट ५२ हजार रहेको छ भने ५१ हजार पाँचसयमा अन्यत्र पाएको स्टोरकिपर थापाले बताए ।
सप्लायर्स खत्रीले आफुले आफुले पालिकासंग ब्यक्तिगत लाभ लिन नखोजेको बताए । आफुले किसानको हितमा आवाज उठाउन चाहेको र सामग्री खरिद तथा भुक्तानीमा प्रक्रिया सहि हुनु पर्ने मनोसायले आवाज उठाएको बताए । यसबारे छानविन गरी कारवाही हुनुपर्ने माग उनकाे छ ।

असार १४ गते खत्रीले फेसबुकमा लेखेका छन् –ताप्ली गाउँपालिकाको लागि तीन महिनादेखि यस्तै गुणस्तरीय मेसिन गोदाममा राखेर पहल गरिरहेको छु, त्यहाँको ३० लाख बजेटमा गिद्दे नजर लाउनेहरु गुणस्तर र प्रतिष्पर्धालाई बाइपास गरेर किसानको भुमिमा कर्मचारीले निर्वाह गर्दै खरिद गर्न लाग्दैछन् । सच्चिने मौका अझै छ, नसच्चिए त्यहाँ पालिकामा झारेको दिन म आफ्नै खर्चमा यो एकथान मेसिन लगेर मुल्य सहित टाँसेर पालिका परिषरमा मार्केटिङ गर्ने प्रण गर्दै किसानहरुलाई टेष्ट ड्राइभ गराउनेछु ।” खत्रीले सञ्चारमाध्यमले कलम नचलाउनु रहस्यामय भनेका छन् ।