Monday, April 20News That Matters

त्रियुगा नगरपालिकाको एक बर्षे प्रगति सार्वजनिक

पूर्णपुष्टि, जेठ । गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकाका जनप्रतिनिधिको एकवर्षे कार्यकालको प्रगति आज सार्बजनिक गरिएको छ । नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी वर्षदिने प्रगति सार्बजनिक गरेको हो ।

नगरप्रमुख बसन्तकुमार बस्नेतले अपर्याप्त बजेटका कारण आवश्यक्ता अनुसार विकास निर्माणका योजनाहरु सञ्चालन हुन नसकेको जनाए । उनले संघिय सरकारले स्थानीय सरकार मार्फत बजेट कार्यन्वयन गराउन पर्नेमा सिमित स्रोत साधनमा बाधेर राख्ने गरेको र स्वीकृत बजेट पनि कटौति गर्ने गरेपछि जनताका अपेक्षित काम गर्न नसकेको उनको भनाई छ ।
नगरपालिकाको कामलाई चुस्त दुरुस्त बनाउन गुनासो सुन्ने अधिकारीको ब्यावस्था गरिएको, सर्वसाधारणलाई आफ्नो काममा सहजता होस भनेर गेटमै नागरिक बडापत्र राखिएको, सूचनाकेन्द्रको स्थापना गरिएको र भ्रष्टाचार रहित नगर बनाउन जनप्रतिनिधि र कर्मचारीकोे सम्पति विवरण सार्वजनिक गर्नुपर्ने ब्यवस्था गरिएको उनले बताए । नगरक्षेत्रमा ११ हजार ६ सय ४७ मिटर कालोपत्रे सडक, २१ हजार २५ मिटर नालीे, ४० हजार मिटर ग्रावेले, १० वटा सडकमा करिव सातहजार मिटर नयाँ ट्रयाक निर्माण गरिएको जनाए । साना ठूला गरी ७७ वटा सार्वजनिक भवन निर्माण तथा २३ वटा कल्भर्ट निर्माण गर्ने काम भएको पनि बताए ।
एक बर्षीय प्रगतिमा नगरपालिकाले आफ्नो बजेटले भ्याएसम्म इमान्दारीका साथ बिकासका काममा खर्च गरेको भन्दै गाईघाट बजारलाई आधुनिक सुविधासम्पन्न बजारका रुपमा स्थापित गराउन योजना बनाइएको, बरुवा त्रियुगा करिडोर मार्फत मदनभण्डारी राजमार्गलाई वाइपास गरेर ट्राफिकजाम कम गर्न ठूला सवारी साधनलाई वाइपासबाट कटाउन लागिएको जनाए । उनले वडाबाट सञ्चालित योजनाको प्राविधिकसहितको उपप्रमुख नेतृत्वको टोलीले अनुगमन गर्ने गरेको बताए ।

नगरका असाहाय, सुकुम्बासि भूमिहिन हरुलाई घर वास कार्यक्रम मार्फत आवास गुह निर्माण गरी वितरण गर्ने कार्यक्रम सञ्चालन गरिएको, पर्यटन क्षेत्रको विकासमा विश्वकै ठूलो शिवलिङ्ग स्थापना, त्रियुगा शान्तिधामको विकास गरिएको, विसनपुर हरित पार्क, बेलदोभान झर्ना आदि ठाउँको विकासमा काम भएको उनले बताए ।

यसैगरी खानेपानीलाई ब्यवस्थित बनाउन बृहत गाईघाट खानेपानी आयोजना, रातमाटे लिफ्टिङ खानेपानी आयोजना र साहिखोला खानेपानी आयोजना जस्ता खानेपानीका ठूला आयोजना निर्माणको काम शुरु गरिएको जनाए ।

कार्यक्रममा उप–प्रमुख महेश्वरी राईले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने ब्यवस्था गरिएको, न्यायिक समितिलाई चुस्त पारिएको र यो एकवर्षमा दर्ता हुन आएका ८५ वटा मुध्दामध्ये ७६ वटा मुध्दा फच्र्याेट भइसकेको बताइन् । वडा नं ३ का वडा अध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता तिलकवहादुर कटवालले १६ वटै वडाका कार्यप्रगति प्रस्तुत गरेका थिए ।