
पूर्णपुष्टि, जेठ १४ ।
त्रियुगा नगरपालिकाको मत गणनाको क्रममा बदरमत बढि देखिएको छ । मतदाता शिक्षाको अभावले मतदाताहरुले मत विगारेर लगाउदा बदर हुन पुगेको हो ।
प्रमुख र उपप्रमुख पदमा धेरै बदर मत आएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार २८ हजार ५७५ मत गणना हुँदा प्रमुख पदमा ३ हजार २१० मत बदर भएको छ । यो कुल गनिएको मतको ११ प्रतिशत हो । उपप्रमुखमा ४ हजार २२ मत बदर भएको छ । यो कुल मतको १४ प्रतिशत हो ।
सबैभन्दा बढि मत बदर वडा नं. ३ मा उपप्रमुख पदमा रहेको छ । त्यहाँ ७११ मत बदर भेटिएको छ । वडा नं. १, २ र ६ मा पाँचसयको हाराहारीमा मत बदर भेटिएका छन् । मतपत्रमा दोहोर्याएर स्वस्तिक छाप लगाउने, औठाछाप लगाउने, आवश्यकभन्दा बढि मत लगाउने जस्ता कारण रहेको बदर मत रहेको जनाइएको छ ।
छोटो समयको कारण देखाउदै सरकारले मतदातालाई पर्याप्त मतदाता शिक्षा दिएन भने राजनीतिक
दलहरुले पनि मत मात्र माग्ने काम गर्यो, मतदाता शिक्षा दिन नसक्दा बदर मतको संख्या बढेको हो । गनिसकिएका वडाहरु मध्ये सबैभन्दा कम बदर भएको वडा नं. १४ रहेको छ । त्यहाँ प्रमुख पदमा १११ र उपप्रमुख पदमा ५० मत मात्र बदर रहेको छ ।
