Friday, June 19News That Matters

दोस्रो स्व. युवराज (कौलाश) राई फुटबल प्रतियोगिताको उपाधिका लागी दमौटी र सगरमाथा भिड्ने

पूर्णपुष्टि, कार्तिक ९ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ४ बगाहामा जारी दोस्रो स्वर्गिय युवराज (कौलाश) राई फुटबल प्रतियोगिताको उपाधिका लागी दमौटी फुटबल क्लब र सगरमाथा फुटबल क्लब राजावास भिड्ने भएका छन् ।

गत कार्तिक ३ गतेदेखि संचालन भएको यस प्रतियोगिताको फाईनल खेल भोली (शनिबार) दिउँसो ३ बजे बगाहाको खेल मैदानमा हुनेछ । पहिलो सेमिफाईनल खेलमा बेल्टार एकता युवा क्लबलाई पेनाल्टी सुटआउटमा २ को विरुद्ध ४ गोल गर्दै सगरमाथाले फाईनलमा स्थान बनाएको थियो भने दोस्रो सेमिफाईनल खेलमा फ्युजन फुटबल क्लब बोक्सेलाई ० को विरुद्ध २ गोल अन्तरले हराउँदै दमौटीले फाईनलमा सगरमाथासँगको भेट पक्का गरेको हो । दमौटी फुटबल क्लब स्व. युवराज राई (कौलाश) फुटबल प्रतियोगिताको पहिलो संस्करणको विजेता समेत हो ।

यस प्रतियोगिताको विजेताले नगद रु. ५१ हजार र उपविजेताले ३१ हजार सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । स्व। कैलाश राई युवा फुटबल खेलाडीहरुमाझ लोकप्रिय थिए । फुटवलमा रुची राख्ने राईको कामको शिलशिलामा करेन्ट लागी मृत्यु भएको थियो । कार्यक्षेत्रमा करेन्ट लागेर मृत्यु भएपछि उनको सम्झनामा गत वर्षदेखि यो प्रतियोगिता आयोजना गरिँदै आएको छ ।