
पूर्णपुष्टि, असोज १० । नेकपा एमाले उदयपुरले बिहीबार नयाँ कार्यविभाजन सार्वजनिक गरेको छ । पार्टीका जिल्ला अध्यक्ष भागवत राउतले हस्ताक्षर गरेर जारी गरेको कार्यविभाजनमा रिक्त जिल्ला कमिटी सदस्यदेखि विभिन्न विभागसम्म गठन गरेर नेताहरूलाई जिम्मेवारी प्रदान गरिएको छ ।
नयाँ कार्यविभाजन अनुसार २१ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरिएको छ । जिल्ला कमिटी सचिवालयमा पाँच जना पदाधिकारी सहित ३२ सदस्यीय कमिटी निर्माण गरिएको छ । साथै, १२१ सदस्यीय सल्लाहकार समिति र ८१ सदस्यीय जेष्ठ कम्युनिष्ट मञ्च पनि गठन गरिएको छ ।
पार्टीले विभिन्न २७ वटा विभागहरू गठन गरेको छ, जसमा पार्टी स्कूल, स्थानीय विकास, संगठन, कानून, प्रचार तथा प्रकाशन लगायत विभागहरू रहेका छन् । प्रत्येक विभागमा नेताहरूलाई जिम्मेवारी दिइएको छ ।
जनसंगठन समन्वय संयन्त्र प्रमुखमा हेम ब. खड्का र सचिवमा भुवन दाहाललाई मनोनित गरिएको छ । पार्टीका २३ वटै जनवर्गीय संगठनहरूमा पनि इन्चार्जहरू तोकिएका छन् । यसमा माया भण्डारी, नारद निरौला, अम्बिका श्रेष्ठ पासवान, सुरेन्द्र बस्नेत लगायत नेताहरूले जिम्मेवारी पाएका छन् ।
निर्वाचन क्षेत्रीय कमिटीतर्फ उदयपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ को संयोजकमा कुल ब राउत, सह-संयोजकमा नारद निरौला र सचिवमा प्रकाश राउत चयन भएका छन् । क्षेत्र नं. २ को संयोजकमा गजेन्द्र बहादुर खड्का, सह-संयोजकमा कृष्णराज दनुवार र सचिवमा बिजय घिमिरेलाई जिम्मेवारी दिइएको छ । प्रदेश निर्वाचन क्षेत्रतर्फ पनि विभिन्न नेताहरूलाई जिम्मेवारी दिइएको छ ।
