
पूर्णपुष्टि, साउन ७ । सर्लाहीको रतनपुरमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको आइतबार राति हत्या भएको छ। उनको आफ्नै घरमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहका अनुसार रायको टाउकोमा घरेलु हतियारले प्रहार गरी हत्या गरिएको छ। घरकै छेउको बाँसघारीबाट उखु काट्ने घरेलु हतियार बरामद भएको र सोही हतियारबाट हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घरमा काम गर्ने रामउजैन रायका अनुसार तीन जना व्यक्ति रायलाई भेट्न राति आएका थिए र उनीहरू रायसँगै सुतेका थिए। हत्यापश्चात ती व्यक्तिहरू फरार रहेको बताइएको छ।
राय २०५४ सालमा सूर्यबहादुर थापाको प्रधानमन्त्रीकालमा भूमिसुधार राज्यमन्त्री बनेका थिए। उनी राप्रपाको हालैको महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार समेत थिए। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले घटनाको सत्यतथ्य तत्काल पत्ता लगाउन सरकारसँग आग्रह गरेका छन्। उनले यो घटना निन्दनीय रहेको र दोषीमाथि कडा कारबाही हुनुपर्ने बताएका छन्। प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ। मृतक रायको तीन श्रीमती, दुई छोरा र पाँच छोरी रहेका छन्।
