Wednesday, May 20News That Matters

प्रत्यक्ष निर्वाचित कार्यकारीका लागि संविधान संशोधन आवश्यक : प्रचण्ड

पूर्णपुष्टि÷गाईघाट, असोज ३ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवसको अवसरमा विद्यमान संविधानलाई संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित संविधान दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २०७२ सालमा संविधान निर्माणको बेला माओवादीले राखेको फरक मतलाई अब सम्बोधन गर्ने समय आएको दाबी गरेका हुन् ।

प्रचण्डले भने, ‘त्यसबेला नै प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारीको व्यवस्था हुनुपर्ने लगायतका विषयमा हामीले फरक मत राखेका थियौं। अहिले जेनजी आन्दोलनले त्यसलाई पुष्टि गरिदिएको छ ।’  उनले थप भने, ‘त्यसबेलाका ठूला भनिएका दलहरूले अहिले जेनजीले उठाएका विषयलाई संविधानमार्फत सम्बोधन हुन नदिएकाले अहिलेको परिस्थिति सिर्जना भएको हो ।’

माओवादी अध्यक्षले राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको आवश्यकता रहेको तर्क गरे । उनले भने, ‘राजनीतिक स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति आवश्यक छ भनेकै हो । बहस भयो, सहमति भएन । त्यसमा सहमति भएको भए अहिले अर्कै परिस्थिति हुन्थ्यो । जेनजीले आन्दोलन गर्नु पर्दैनथ्यो र यति ठूलो क्षति हुन्थेन ।’

प्रचण्डले संविधान संशोधनको सम्भावनालाई लिएर आशावादी मत व्यक्त गरे । उनले भने, ‘हामीले संविधान बनाउँदा भिन्न मत राखेका थियौं। जेनजीको आन्दोलनले फेरि पुष्टि गरेको छ, ती मत सहि थिए । दस वर्षपछि पुनः संशोधन गरेर त्यो ठाउँमा पुग्न सकिन्छ भन्ने आधार बनेको देख्छु ।’

प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र पहिचानका आधारमा प्रतिनिधित्वका विषयहरूमा संविधान संशोधन आवश्यक रहेको बताए। उनले यी सबै विषयहरू जेनजी आन्दोलनले सही साबित गरेको दाबी गरे । कार्यक्रममा प्रचण्डले वर्तमानका ठूला दलहरूको अहंकारका कारण भयंकर अवस्था सिर्जना भएको आरोप लगाए । उनले भने, ‘अहिलेका ठूला भनिएका दलहरूको अहंकारले यो भयंकर अवस्था आएको हो । उनीहरूलाई संविधान बनाउने बेलामा पनि कुनै चिन्ता नभएको थियो ।’