
पूर्णपुष्टि, साउन १४ । देशैभर बाढी र पहिरोले ठूलो जनधनको क्षति गरेको छ। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्मा परी १४३ जनाको मृत्यु भएको छ। यसैगरी ४७ जना बेपत्ता रहेका छन् र १६१ जना घाइते भएका छन्।
विपद्को असर सबै प्रदेशमा परेको छ। सबैभन्दा बढी गण्डकी प्रदेशमा ४२ जनाको मृत्यु भएको छ भने बागमती प्रदेशमा २९ जना र लुम्बिनी प्रदेशमा २४ जनाको मृत्यु भएको छ। अन्य प्रदेशहरूमा पनि उल्लेख्य संख्यामा मानवीय क्षति भएको छ। प्राकृतिक विपद्ले भौतिक संरचनामा पनि ठूलो क्षति पुर्याएको छ। १८४ घर डुबानमा परेका छन् भने २४१ घर, ८८ गोठ, ४३ पुल, २ विद्यालय र २ सरकारी कार्यालयमा क्षति पुगेको छ। यसका साथै ६०८ वटा पशुचौपायाको मृत्यु भएको र ४,०४२ घरपरिवार विस्थापित भएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए।
सरकारी निकायहरूले उद्धार र राहत कार्यलाई तीव्रता दिएका छन्। हालसम्म ७१ जनाको उद्धार गरिएको छ र बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको छ। यद्यपि, मनसुनी वर्षा जारी रहेकोले थप क्षतिको जोखिम कायमै रहेको छ। सरकारले सबै नागरिकलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।
