
पूर्णपुष्टि, असार २२ । बेलायतमा जुलाई ४ तारिखमा सम्पन्न आम निर्वाचनमा लेबर पार्टीले ऐतिहासिक जित हासिल गरेको छ। ६५० सिट रहेको बेलायती संसद्मा लेबर पार्टीले ४१२ सिट जितेर पहिलो दल बनेको छ। यो सन् २०१९ को निर्वाचनमा प्राप्त २०३ सिटको तुलनामा दोब्बर भन्दा बढी हो।
अर्कोतर्फ, सत्तारूढ कन्जरभेटिभ पार्टीले भारी पराजय व्यहोरेको छ। सन् २०१९ मा ३६५ सिट जितेको कन्जरभेटिभ पार्टी यसपटक जम्मा १२१ सिटमा सीमित भएको छ।विश्लेषकहरूका अनुसार, कन्जरभेटिभ पार्टीको यो पराजयका पछाडि पार्टीभित्रको राजनीतिक अस्थिरता, कमजोर अर्थतन्त्र, बढ्दो महंगी, स्वास्थ्य सेवामा देखिएका समस्याहरू र आप्रवासन नीतिमा असफलता प्रमुख कारण रहेका छन्।
लेबर पार्टीका नेता सर कियर स्टार्मरको आकर्षक व्यक्तित्व र पार्टीको नीतिप्रति जनताको विश्वासले पनि निर्णायक भूमिका खेलेको देखिन्छ। बेलायती जनताले राजनीतिक स्थिरता र प्रभावकारी शासनको अपेक्षा गरेको यो निर्वाचन परिणामले देखाएको छ। अब लेबर पार्टीले देशको अर्थतन्त्र सुधार्ने र जनहितका कार्यक्रमहरू कार्यान्वयन गर्ने चुनौती सामना गर्नुपर्ने देखिन्छ। यदि लेबर पार्टीले अर्को निर्वाचनसम्म देशको अर्थतन्त्र उकास्न र जनताको हितमा काम गर्न सकेन भने अर्को पटक फेरि सरकार बाहिर बस्ने पालो यही दलको हुन सक्ने विश्लेषकहरूको भनाइ छ। यो निर्वाचन परिणामले बेलायती जनताले नसक्नेलाई प्रतिपक्षमा पठाएका र सम्भावना भएको दललाई सत्ताको बागडोर सुम्पेको देखाएको छ। यो लोकतन्त्रको सुन्दर पक्षको रूपमा हेरिएको छ।
