
गाईघाट÷पूर्णपुष्टि, माघ २३ ।
उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित त्रिगा नदी किनारमा (भोलि) शुक्रबारदेखि दोस्रो उदयपुर एक्सपो महोत्सव २०८२ सञ्चालन हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै भोलिदेखि सुरु हुन गइरहेको महोत्सवको तयारी पूर्णरूपमा सम्पन्न भएको जिल्ला उद्योग वाणिज्य सङ्घ उदयपुरका महासचिव सुनिल शाहले जानकारी दिए । यस महोत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुलीले गर्ने महासचिव शाहले जनाए ।
कृषि वन पर्यटन शिक्षा कला संस्कृति उद्योग र व्यापार उदयपुरको पहिचान समृद्धिको आधार भन्ने मूल नाराका साथ सञ्चालन हुन गइरहेको यस महोत्सव १६ दिनसम्म सञ्चालन हुनेछ ।
यस महोत्सवको मुख्य उद्देश्य उदयपुर जिल्लासहित कोशी प्रदेशको कृषि उद्योगी व्यवसायी तथा उद्यमीहरूका उत्पादनलाई एउटै थलोमा उद्यमीहरूका उत्पादनलाई एउटै थलोमा प्रदर्शन प्रवर्धन र बजारीकरण गर्नु रहेको महासचिव शाहले जनाए ।
यस महोत्सवमा १६० वटा स्थलहरू निर्माण गरिएको छ । महोत्सवमा सेल्फी जोन पार्कको रूपमा ताजमहल र लन्डन ब्रिज निर्माण गरिएको छ । ताजमहल र लन्डन ब्रिजको निर्माण कार्य सम्पन्न हुन लागेको उनले जनाए । त्यस्तै यस महोत्सवमा जलपरि टर्नल पनि राखिने उनले जनाए । यस महोत्सवको आयोजना जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले गरेको हो । यस महोत्सवको टिकटको मूल्य १५० तोकिएको छ भने विद्यार्थीका लागि भने १०० रुपैयाँ तोकिएको छ ।
