Friday, June 26News That Matters

महिला नेतृत्वले सफल भयो सिंचाई योजना

पूर्णपुष्टि, भदौ २७ गते ।
खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ को दोबेला गाउँमा जलजले चुच्चेढुङ्गा सिंचाई योजना महिलाहरुको उपभोक्ता समिति सुस्मा श्रेष्ठ अध्यक्षको नेतृत्वमा सिचाई योजना सम्पन्न भएको छ ।
भौगोलिक रुपमा दुर्गम भएको जिल्ला सदरमुकामदेखि दोबेला आयोजनाको लागि नेपाल सरकार र स्वीजरल्याण्ड सरकारको संयुक्त साझेदारीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा सञ्चालित साना सिंचाई कार्यक्रम अन्तरगत करिव ४२ लाख बजेट लगानीमा आयोजना सम्पन्न भएको हो ।


सिंचाई आयोजनाबाट २३ घरधुरी संख्याले करिव १७ हेक्टर जमिनमा सिंचाई उपभोग गर्न पाएका छन् ।
२०७८ माघ महिनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग आयोजनाको सम्झौता गरी २०७९ जेष्ठमा सिंचाई कुलो आयोजना सम्पन्न भएको हो । आयोजना सम्पन्न गर्नको लागि साना सिंचाई कार्यक्रमले समितिलाई २ दिने सँस्था व्यवस्थापन र निर्माण गुणस्तर नियन्त्रण सम्बन्धी तालिम सञ्चालन गरी आयोजनाको काम सुरु गरी कार्य सम्पन्न गरेको छ । सिचाई आयोजना कुलो कार्य सम्पन्न गर्नको लागि समितिलाई काम गर्नको लागि औजार तथा सुरक्षा सामाग्री साथै कामदारको विमा समेत गरी, सिचाई संरचना निर्माणमा साना सिचाई कार्यक्रमद्धारा प्राविधिक सहयोग गरेको हो । साना सिचाई कार्यक्रमले समुदायका महिलाहरुलाई कृषि क्षेत्रमा उत्प्रेरित गरी व्यवसायिक कृषि खेतिलाई प्राथमिकता दिई आर्थिक रुपमा मजवुद बनाउदै सामाजिक नेतृत्वमा अगाडी बढाउने उद्धेश्यले सिंचाई आयोजना कार्यक्रम सम्पन्न गरिएको छ ।

समुदायमा आजको लोकतान्त्रिक युगमा पनि महिलाहरुलाई घरको चुलाचौकामा मात्र सिमित राखेर साँघुरो दृष्टिले हेर्ने गरेको कारण महिलाहरुले पनि अवसर र समय पायो भने पुरुष सो सरह नै घर, समाज देखि राष्ट्र सम्म नेतृत्व गर्न सक्ने भन्ने उदाहरण जलजले चुच्चेढुङ्गा उपभोक्ता समितिले देखाएको समुदायको जनप्रतिनिधिले बताएका छन् ।
सार्वजनिक काममा महिलाहरुको नेतृत्व काममा धेरै मध्यनजर गरी समय दिने, योजनाको लक्ष्य अनुसार काममा ध्यान दिई काम गर्ने भएकोले आयोजनाहरु सम्पन्न गर्न धेरै नै सजिलो भएको समितिका अध्यक्ष श्रेष्ठले बताईन् । श्रेष्ठका अनुसार आयोजना सम्पन्न गर्नको लागि विविध चुनौती आएको थियो । चुनौतीको बावजुत पनि समुदायमा सबैको सहयोग र साना सिचाई कार्यक्रमको सहयोगले काम गर्न सहज भएको बताउछिन् । कुलोमा आएको प्रसस्त पानीले गाउँमा सबैले आ–आफ्नो जमिनमा वर्षायाममा धान खेती तथा हिउँदको सुक्खा समयमा पनि आधुनिक तरकारी खेति तथा अन्य कृषि व्यवसाय गरी परिवारमा थप आय आर्जन गरिरहेको कुरामा सबै समुदायका किसानहरु खुशी रहेको बताउछिन् ।


समितिमा महिलाहरुको नेतृत्वमा योजना सञ्चालन भएकै कारणले पनि योजना एकदमै सरल र सजहरुपले प्राविधिक स्टिमेटअनुसार, गुणस्तरीय सिंचाई कुलो योजनाको काम सम्पन्न भएको सिंचाई प्राविधिक देवराज मिश्रले बताए ।
यस्तै, खोटाङ जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा १० वटा स्थानीय तहबाट संयुक्त लगानीबाट संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह स्वीस सरकार र उपभोक्ताहरुको जनश्रम सहित साना सिचाई कार्यक्रमद्धारा जम्मा ६७ वटा सिंचाई आयोजना सम्पन्न भएको छ । आयोजनामा कूल लागत १९ करोड २० लाख बराबरको काम सम्पन्न भएको साना सिचाई कार्यक्रमका क्लस्टर संयोजक रमा मगरले बताए ।
खोटाङ जिल्ला समुदायको परिवारलाई आर्थिक रुपमा मजबुद बनाउन व्यवसायिक कृषि तर्फ लैजान सहयोग गर्नको लागि यसपालीको आर्थिक वर्ष २०७९/०८० मा जम्मा ६४ वटा सिंचाई योजना निर्माण गर्ने योजना रहेको पनि बताए ।