Monday, May 4News That Matters

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, एक मतको लागि दौडधुप

पूर्णपुष्टि, १४ असार ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज संसदमा विश्वासको मत लिने भएको छ । जसपा र माओवादीले सरकार छाडे सँगै अल्पमतमा परेको कार्कीले आज विश्वासको मत लिने गरी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेको छ । आज लिने विश्वासको मतमा कार्कीलाई एक मतको आवश्यक छ । एमालेको ४० र राप्रपाको ६ सांसद सहित ४६ पुग्ने मतमा एक मत मात्रै मत पाएपनि कार्की नेतृत्वको सरकार निरन्तर रहन्छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना सांसद कार्कीको पक्षमा छन् । बहुमतका लागि उनलाई एक मत पुग्दैन । त्यो एक मत जुटाउन मुख्यमन्त्री कार्की सक्रिय छन् । तर विपक्षी गठबन्धनका दलहरु पनि कार्कीको विश्वासको मतको प्रस्ताव फेल गराउन प्रयासरत छन् ।

कार्कीको विपक्षमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १२ (सभामुख बाहेक) एकीकृत समाजवादीका ४ र जसपाको एक जना सांसद छन् । सभामुख बाहेक दुवै पक्षसँग समान ४६–४६ सांसद छन् । बराबरी भएको अवस्थामा सभामुखले निर्णायक मत दिन पाउँछन् । सभामुख बाबुराम गौतम प्रतिपक्षी गठबन्धनमा रहेको माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् ।

मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि अन्य दलका सांसदलाई फकाइरहेका छन् । सत्ता पक्षले सांसदलाई फकाउन थालेपछि प्रतिपक्षी गठबन्धन पनि चनाखो बनेको छ ।

प्रतिपक्षी गठबन्धन दलका नेताहरुले भने मुख्यमन्त्रीको प्रस्तावलाई फेल गराउने दाबी गरेका छन् । माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव फेल गराउने बताए ।