पूर्णपुष्टि, कार्तिक १४ । बंगालको खाडीमा निर्माण भएको मोन्था नामक चक्रवाती प्रणालीको असर शनिबारदेखि घट्दै जाने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल भारतको मध्य प्रदेश नजिकको क्षेत्रमा न्यूनचापीय प्रणालीको रूपमा रहेको मोन्थाले शुक्रबार साँझसम्म नेपालको मौसमलाई प्रभावित गर्ने महाशाखाले बताएको छ । यस प्रणालीका कारण देशका विभिन्न भागमा निरन्तर वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । यस्तै, लुम्बिनी प्रदेशका केही क्षेत्रमा पनि पानी परिरहेको छ । नेपालमा हाल पश्चिमी वायुप्रणाली र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक असर देखिएको छ । यी प्रणालीहरूको संयुक्त प्रभावले मौसम अस्थिर बनेको महाशाखाले जनाएको छ।
केही प्रदेशमा भारी वर्षाको सम्भावना
कोशी, मधेस र बागमती प्रदेशका थोरै ठाउँहरूमा भारी वर्षा हुन सक्ने देखिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि ठूलो परिमाणमा पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले बताएको छ ।
शुक्रबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्णरूपमा बादल लागेर रहने छ। यी प्रदेशका धेरैजसो क्षेत्रमा मध्यम खालको वर्षा हुने अनुमान गरिएको छ । बाँकी रहेका कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली मौसम रहनेछ । यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का पानी पर्न सक्ने सम्भावना रहेको छ ।
लगातार परिरहेको वर्षाका कारण नदीनाला आसपासका क्षेत्रमा बाढी आउने जोखिम बढेको छ । यस सम्बन्धमा स्थानीय प्रशासनले नागरिकहरूलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । किसानहरूलाई पनि शनिबारसम्म धान नकाट्न सुझाव दिइएको छ ।
