
पूर्णपुष्टि, जेठ २० । मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा, सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा, सोही नगरपालिकाको तल्लेख गाउँका २० वर्षीय देवराज बुढा र राजबहादुर रावत रहेका छन् ।
मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार लेक लागेर बिरामी परेकाहरुमध्ये शनिबार देवराज बुढाको मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । गम्भीर बिरामी एकजनाको उपचार जारी छ । शनिबार पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेका मानबहादुर बुढा, शोभान बुढा र राजबहादुर रावतको पनि मृत्यु भएको थियो ।
शनिबार मानबहादुर, शोभान र राजबहादुरलाई मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि सदरमुकाम गमगढी ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको थियो । अर्का बिरामी देवराज बुढाको स्वास्थ्य चौकीबाट गमगढी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । मुगुमकार्मारोङ गाउँपालिकाले गत वैशाख २५ गतेदेखि यार्सागुम्बा संकलन खुला गरेको छ ।
