Saturday, April 25News That Matters

युक्रेनको नियन्त्रणमा रहेका सिद्धार्थ ढकालको पत्र परिवारलाई प्राप्त

पूर्णपुष्टि, असार १७ । काभ्रेको मण्डन देउपुर नगरपालिका–६ का सिद्धार्थ ढकालले युक्रेनको नियन्त्रणमा रहेको अवस्थाबाट परिवारलाई पत्र पठाएका छन्। रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) को पहलमा किभस्थित रेडक्रस सोसाइटीका अधिकारीहरूले ढकालको सन्देश सहितको पत्र नेपाल रेडक्रस सोसाइटीलाई पठाएका हुन्।

ढकालको पारिवारिक स्रोतबाट प्राप्त पत्रमा उनले आफू पूर्ण स्वस्थ रहेको र चाँडै आउने आश्वासन दिएका छन्। उनले पत्रमा लेखेका छन्, ‘म पूर्ण स्वस्थ छु, कुनै चोटपटक छैन। म चाँडै आउँछु। हुनसक्छ युद्ध रोकिएपछि अथवा नेपाल सरकारको सहयोग भयो भने म अझै चाँडै आउन सक्छु।’ उनले ९ अप्रिल २०२४ ९२७ चैत २०८०० मा पत्रमा हस्ताक्षर गरेका छन्।

सिद्धार्थ २५ भदौ २०८० मा उच्च शिक्षा अध्ययनका लागि नेपालबाट मस्को उडेका थिए। विचौलियाको सिकार भएपछि उनी रुसी सेनामा भर्ती हुन बाध्य भएका थिए। १३ मंसिर २०८० मा उनले बुबा बिरुलाई अडियो म्यासेज पठाएका थिए जसमा उनले युद्धको फ्रन्टलाइनमा जान लागेको र ८–१० दिनसम्म सम्पर्क नहुन सक्ने बताएका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका उनलाई बन्धक बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

सिद्धार्थकी आमा गंगा ढकालले भनिन्, ‘अहिले छोरा बाँचेकै रहेछ भनेर खुशी लाग्यो। तर, कहिले आउँछ भन्ने चिन्ता उस्तै छ। हरेक दिन छोरा आउला कि भनेर बाटो हेरेर बित्छ।’ उनले सरकारले उद्दारका लागि पर्याप्त पहल नगरेको गुनासो पनि गरिन्। नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका सभापति रघुनाथ हुमागाईंले आईसीआरसीमार्फत आएको पत्र घरमा पुर्याएको र परिवारको सन्देश पनि पठाउने व्यवस्था मिलाइएको बताए।